चिनियां विदेशमन्त्री सेप्टेम्बरमा नेपाल आउने, राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुइतिहाइको सरकार बन्यो, ३ फागुन ०७४ मा । त्यसको २ महिनापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा हिंडे ।

तीनवटै तहको निर्वाचनपछि गठन भएको सरकारको मन्त्रीस्तरीय चीन भ्रमणको सुरुवात उनै परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । भ्रमणको मुख्य उद्देश्य थियो, २ देशबीच उच्चस्तरीय भ्रमणको वातावरण बनाउने र पारवहन, यातायात, सडक पूर्वाधार तथा ऊर्जा विकासबारे चीनसँग विगतमा भएका सहमतिको कार्यान्वयनलाई अगाडि बढाउने ।

 र, ०७५ असार पहिलो साता प्रम ओलीको चीन भ्रमण भयो। त्यतिखेर प्रधानमन्त्री ओलीको भ्रमणको सबैभन्दा ठूलो उपलब्धि  केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति थियो । त्यो बाहेकका समझदारी पनि भएकोमा प्रम ओली र चिनियां राष्ट्रपति सि जिन फिङबीच भेटवार्ता भएको थियो। राजनीतिक र कूटनीतिक रुपमा पनि यो भ्रमणले दुई देशबीच केही मात्रामा आपसी विश्वास र सदभाव थप्यो ।  

त्यसयता परराष्ट्रमन्त्री ज्ञवाली दोस्रो पटक चीन भ्रमणमा पुगे, १६ असारमा । मन्त्री ज्ञवालीले १८ असारमा चिनियां समकक्षी वाङ यीसंग भेटवार्ता गरे,  ग्रेट हल अफ द पिपुलमा । भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफुल भएको दूतावासले जनाएको थियो । 

सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना  समकक्षीलाई चीन भ्रमणको निम्तो दिंदा उनले ग्रहण गरेका थिए । परराष्ट्र स्रोतका अनुसार चिनियां परराष्ट्रमन्त्री वाङ सेप्टेम्बर दोस्रो हप्ता नेपाल भ्रमणमा आउने तयारीमा छन् । वाङको भ्रमण चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको लागी हुन लागेको बुझिएको छ ।  चिनियां राष्ट्रपति सी जिनफिङ अक्टोम्बर १२ मा तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् । फर्कदा उनले नेपालको भ्रमण गर्ने गरी तयारी भइरहेको परराष्ट्र स्रोतको दावी छ । 

विदेशमन्त्री यीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको भ्रमणबारे कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र अन्य उच्च सरकारी अधिकारीसंग छलफल गर्ने स्रोतको दाबी छ । 

 चिनियां राष्ट्रपति सी करिव ९ घण्टाका लागी नेपाल आउने कार्यक्रम छ । भारतको भ्रमण सकेर नेपाल हुंदै चीन जाने तयारी भइरहेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिएका छन् । 

वाङको नेपाल भ्रमणपछि औपचारीकता दिने गरी तयारी भइरहेको स्रोतको दावी छ । ‘विदेशमन्त्री वाङको भ्रमणपछि औपचारीक रुपमा त्यसको घोषणा हुन्छ,राजनीतिक परिस्थिती तलमाथी भएन भने उच्चस्तरबाटै नेपाल भ्रमण हुने निश्चित भइसकेको छ ।’ राष्ट्रपति भ्रमणको तयारीमा जुटेका एक अधिकारीले काठमाडौंपाटीसंग भने । 

परराष्ट्रमन्त्रीको पछिल्लो भ्रमण अघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरिसकेकी छिन् , ११ वैशाखमा ।  ग्रेट हलमा राष्ट्रपति भण्डारीलाई चिनियां समकक्षी सि जिङपिङले स्वागत गरेका थिए, भने राष्ट्रपति स्तरमा भएको वार्तामा दुई देशबीच विभिन्न सात वटा सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यसअघि प्रथम राष्ट्रपति रामबरण यादवले चीनको भ्रमण गरेपनि उनले राजकीय सम्मान पाएका थिएनन् ।

भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ पुगेकी थिइन् । शिखर सम्मेलनले ३८ बुँदे घोषणापत्र जारी गरेकोमा उपशीर्षकको २३औं नम्बरमा नेपाल–चीन सीमापार रेलवेका साथै नेपाल–चीन हिमालपार बहुआयामिक सम्पर्क सञ्जाल स्थापना गर्ने विषय उल्लेख छ। 

यसैबीच चिनियां राष्ट्रपति सिसंगको भेटमा राष्ट्रपति भण्डारीले चिनियां राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन्। 

जवाफमा चिनियां राष्ट्रपति सीले भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु ठूलो महत्त्वको विषय भएको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणको निम्तो दिंदा उपयुक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका  थिए । सीले नेपाल सरकारले अगाडि सारेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई मूर्त रुप दिनका लागि चिनियां सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए।  नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको छ । 

सरकार निर्वाचन पछिको परिवर्तित राजनीतिक अवस्था, विदेश नीति, सरकारका प्राथमिकता र विगतका सहमतिलाई अगाडि बढाउन लागिरहेको छ। फलस्वरुपः नेपाली प्रतिनिधिहरूले चीनको भ्रमणलाई तीव्रता दिएका छन् भने चिनिया पक्षबाट पनि भ्रमण बढिरहेको छ। चिनियां विदेश मन्त्री वाङले यसअघि  सन् २०१४ मा नेपाल भ्रमण गरेका थिए। नेकपाका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि चीनवाट वाङको भ्रमण नै सवैभन्दा माथिल्लो तहको हो   

नेपालमा स्थायी सरकार गठन भए यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चीन भ्रमण गरिसकेका छन् । उनले चीन, सेप्टेम्बर २०१८चिनियां कम्युनिस्ट पार्टीले निमन्त्रणामा चार दिने चीन भ्रमण गरेका थिए। 

तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए। सन् २००८ मा बेइजिङ ओलिम्पिक्सको समापन समारोहमा भाग लिन उनी चीन पुगेका थिए। उनले तत्कालीन चिनियाँ  राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गरेका थिए। सन् २०१७ मा प्रधानमन्त्रीकै हैसियतमा चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन प्रचण्ड हाइनान प्रान्त पुगेका थिए ।

यो पनि पढ्नुहोस्-

‘चीनको प्रभाब नेपालमा मात्र होइन विश्वमा नै फैलिरहेको छ’ 

 

प्रतिक्रिया दिनुहोस
Advertisement