त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घुस लिएर परीक्षाको परिणाम फेरबदलमा संलग्‍न रहेको आरोपमा अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

एमए गोप्य शाखाका अधिकृत रामबहादुर कर्मचार्यलाई एक लाख ५० हजार घुस दिएर भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालाले एमए इकोनोमीमा गोल्डमेडल लिएको खुलेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

कोइरालाले डेढ लाख घुस दिएपछि कर्मचार्यले उनको नम्बर बढाइदिएका थिए । त्यसपछि प्रथम श्रेणीमा उत्तीर्ण कोइरालाले सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथमको हकदार बनेका थिए। अख्तियारको अनुसन्धानले कोइरालाले कर्माचार्यलाई घुस दिएर एमए ग्रामीण विकासमा प्रथम श्रेणी हासिल गरेको खुलेको छ। एमए समाजशास्त्रमा पनि परीक्षामै उपस्थित नभइ कोइराला उत्तिर्ण भएको पाइएको छ।

अख्तियारको अनुसन्धानमा परीक्षाको परिणाम फेरबदल गर्न कर्माचार्यसँगको मिलेमतोमा कोइरालाले एमएका अर्थशास्त्र, ग्रामीण विकास र समाज शास्त्रका १५ वटा पेपरमा ३ देखि ५० नम्बरसम्म थपेको खुलेको छ। अख्तियार तीनवटै विषयमा कोइरालाले घुस दिएर कुल २२४ अंक थपेको जनाएको छ। त्यसका लागि उनले १ लाख ५० हजार घुस दिएका थिए।

त्यसैगरी कर्मचार्यले केदार भट्टराईका लागि एमए अर्थशास्त्रकै ५ वटा पेपरमा १०(१० नम्बरका दरले ५० अंक थप गर्न कोइरालामार्फत तीन लाख रुपैयाँ घुस लिएको पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement