अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाली तस्कर पक्राउ


न्युयोर्क – कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो ।

त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो । एउटा टेलिभिजन अन्तर्वार्तामा कोलम्बियाका राष्ट्रपति इभान ड्युकले उनको पक्राउबाट आफू खुसी भएको बताए । ‘उनको पक्राउले देशमा लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले भने । ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए ।

उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ । उनीविरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement