साइबर सुरक्षा प्रदान गर्ने स्टार्टअप मोनाल टेकलाई ह्वावे स्टार्टअप आइसीटी अवार्ड २०२२ प्रदान


काठमाण्डु – ह्वावे स्टार्टअप आइसीटी अवार्ड २०२२ मोनाल टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मोनाल टेकलाई स्टार्टअप आइसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो, जस अनुसार यस वर्ष स्टार्टअप विधामा ५० बढीको नोमिनेसन प्राप्त भएको थियो ।

स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट विभिन्न चरणको छनौट र पब्लिक भोटिङ पश्चात मोनाल टेकले स्टार्टअप आइसीटी अवार्डको उपाधि जित्न सफल भएको हो ।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा प्रदान गरेको थियो । मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षालाई बलियो पार्न स्थापना भएको हो । कम्पनीका अनुसार साइबर सुरक्षा विज्ञसहितको आईटी टिमले २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटाको सुरक्षा गर्नेछ ।

मोनाल टेकले साइबर सोलुसन, ट्रेनिङ र समग्र सूचना प्रविधि पूर्वाधारको सुरक्षा पनि प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर, सेक्युरिटी अडिट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, सेक्युरिटी डिभाइस लगायत साइबर सेक्युरिटी प्रडक्टहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement