काठमाण्डु-महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरूले दर खाने परम्परा छ ।
आज हिन्दु महिलाहरू दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् ।
आजको दिन विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
भोलि मनाइने तीज पर्वको समयमा कतिपय महिलाहरूले पानी समेत नखाइ व्रत बस्ने हुनाले त्यसो नगर्न चिकित्सकहरूले भने सुझाव दिएका छन् । साथै नियमित औषधि सेवन गरिरहेका महिला, गर्भवति, अस्वस्थ रहेका महिलाहरूलाई सकेसम्म व्रत नबस्न, बस्नै पर्ने भए आवश्यकता अनुसार पानी र फलफूलको सेवन गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।
प्रतिक्रिया