काठमाण्डु – नुवाकोटको म्यागङ गाउँपालिकामा पुरानो रिसइबीका कारण दुई दाजुभाइको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न मुख्य दुई जना भने धादिङबाट पक्राउ परेका छन्।
घटनामा म्यागङ १ किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको हत्या गरिएको प्रहरीले जनाएको छ। उनीहरूको शव तोमजोङ खोलामा गाडिएको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार किम्ताङकै ३६ वर्षीय धनबहादुर तामाङले भरुवा बन्दुक प्रयोग गरी दाजुभाइको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि फरार रहेका उनीसहितका आरोपितलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनामा संलग्न मुख्य आरोपी धनबहादुर तामाङ र अर्का व्यक्ति सोमबहादुर तामाङलाई धादिङको खनियाँबास ५ भिरवनबाट पक्राउ गरिएको हो।
प्रहरीले घटनास्थलबाट मोटरसाइकल एक थान र भरुवा बन्दुक तीन थान बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
स्थानीय वडाध्यक्षका अनुसार निर्माणसम्बन्धी पुरानो विवादकै कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ठेक्का तथा निर्माण कार्यसँग सम्बन्धित आर्थिक विवादले घटना भएको बताइएको छ।




प्रतिक्रिया