नवलपरासी- पूर्वको कावासोतीमा मंगलबार पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिविधिबाट कांग्रेस नेताहरू सन्तुष्ट नभएको र छिट्टै सरकार परिवर्तन हुने संकेत आफूले पाएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले नयाँ वर्ष अघि र पछि केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन हुने र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भविष्यवाणी गर्दै आइरहेका छन् ।
सरकार परिवर्तन सम्बन्धी दाहालको यस्ता अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा एक खालको आशंकार तरगंसमेत पैदा भएको छ ।
यद्यपी अध्यक्ष प्रचण्डको यस भनाइलाई कांग्रेसले वास्ता गरेको छैन भने एमाले भने सशंकित देखिएको छ ।
कांग्रेसका नेताहरू दाहालको भनाइमा कुनै सत्यता नरेहको बताइरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताले भने, ‘प्रचण्डजीका यी सबै हावादारी गफ मात्रै हुन् ।’
तर कांग्रेसकै कतिपय नेताहरूले नयाँ समीकरणको विषयमा दाहालले सभापति देउवासमक्ष प्रस्ताव पनि पठाएको दाबी गरेका छन् ।
कांग्रेसका एक नेताका अनुसार दाहालले देउवासँग भेटेर संवाद गर्ने प्रस्ताव पठाएका थिए । तर, देउवाले त्यसलाई अस्वीकार गरिदिएका छन् । देउवाले अहिले आफू ओलीसँग रहेको भन्दै दाहालँगको भेट प्रस्तावलाई अस्वीकार गरेका हुन् ।
देउवासमक्ष आएको प्रस्तावमा उनले कांग्रेस अहिले स्थायित्वको पक्षमा रहेको बताएका थिए
खासगरी माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले विभिन्न तवरबाट सरकार गठन गर्ने प्रस्ताव लिएर कांग्रेससमक्ष पुग्ने गरेका छन् ।
केही दिन अधि एक टिभी अन्तर्वार्तामा अध्यक्ष दाहालले सरकार जुनसुकै बेला परिवर्तन हुनसक्ने बताएका थिए । त्यस लगत्तै गृहजिल्ला चितवन पुगेका उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिएका थिए । आफूलाई प्राप्त विभिन्न सूचनाका आधारमा बोलेको दाबी गर्दै उनले भन्दै आएका छन–यो सरकार धेरै उता जान सहज छैन ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैली प्रति रोष पोख्दै आएका छन् । तर सभापति देउवा भने ओलीको विपक्षमा एक शब्द पनि बोलेका छैनन् ।
अध्यक्ष दाहालले सरकार परिवर्तनको सूचना आफूले पाएको दाबी गरिहदा रुपन्देही पुगेर प्रधानमन्त्री ओलीले सरकार ढल्दै नढल्ने जवाफ दिएका थिए ।
प्रचण्डले यस्तो सूचना कहाँबाट पाए त्यो खुलाएका छैनन तर, प्रमुख सत्ता साझेदार दलहरूले ती विषय हल्ला मात्रै भएको बताउने गरेका छन् ।
उनीहरूले यो गठबन्धन फेरिन सक्ने दाहालको अभिव्यक्तिलाई उनको ‘सत्ता–मोह’का रूपमा अथ्र्याएका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली दाहालको भनाइ उनको ‘सत्ता–मोह’ भएको टिप्पणी गर्छन् । ‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन’, ज्ञवालीले भने ।
‘सरकार परिवर्तनका बारेमा प्रचण्डजीले जे–जे भन्नुभयो, ती हल्ला मात्रै हुन् । ओलीजी प्रधानमन्त्री हुँदा अशान्त जस्तो भयो भन्ने उहाँको कुरा हे । त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा हुन्छ भन्ने उहाँको बुझाइ हो’, कांग्रेस नेता मीन विश्वकमाले भने।
प्रतिक्रिया