गुपचुप छुट्छन् धर्म प्रचारक


दाङ – दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्‍यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही थान बाइबल, बाड्न तयार गरिएको पैसा राखेका खामसहित प्रहरीले पक्राउ गरि अनुसन्धान गर्‍यो। तर अनुसन्धान धेरैदिन चलेन। प्रहरीले ‘दबाब’का कारण सबैलाई छाडिदियो।

केही दिनअघि बर्दियामा पनि दुई जना विदेशी नागरिक धर्म प्रचारकै मुद्धामा पक्राउ परे। उनीहरु पनि सहज छुटै। रुपन्देहीमा पनि धर्म प्रचारको मुद्धामा पक्राउ परेका विदेशीलाई प्रहरीले मुद्धा बढाउन सकेन। त्यतिकै छाडिदियो। यी घटना उदाहरण मात्रै हुन्। धर्मप्रचारक पक्राउ पर्छन् तर चुपचाप छु्ट्छन्। धर्म प्रचारमा पक्राउ परेका बारे प्रहरीले तथ्याक समेत राम्रोसंग राखेको पाइँदैन।

अनेक प्रलोभन देखाएर दाङमा धर्म परिवर्तन गरिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि हंगामा भएको थियो। अमेरीकामा बसेर क्रिश्चियन धर्म प्रचारमा लगानी गरिरहेकी महिलासहित धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजनालाई पक्राउ गरेपछि प्रहरीलाई दवाव थेक्न हम्मे पनि पर्‍यो। पक्राउ परेकी अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई भिसा रद्द गरि १० वर्षसम्म नेपाल आउन रोक लगाउने माग र आग्रहसहित अध्यागमन विभागमा पठायो। अन्य चार जनालाई दाङमै मुद्धा चलाइयो। तर प्रहरीको प्रयास सफल भएन। सबै उम्कीए। अमेरिकी नागरिकलाई अध्ययागमन विभागले चुपचाप छाडिदियो।

संविधानले धर्म परिवर्तन गराउने कार्यलाई अपराध मानेको छ। गाउँ शहरमा अनेक प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङमा समातिएका पाँचै जना विना कारबाही छुट्नु उनीहरुका लागि हौसला भएको स्थानीय प्रमोद अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement