शिक्षकहरूको माग पूरा गर्न सरकार तयार

शिक्षकहरूको माग पूरा गर्न सरकार तयार

शिक्षा मन्त्रालयको ७ बुँदे प्रस्तावमा शिक्षक महासंघको पनि सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार भएको छ ।

प्रस्तावमाथि थप छलफल गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी मन्त्रालयको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले ती प्रस्तावलाई अध्ययन गरी सहमति जनाए २० दिनदेखि जारी शिक्षकहरूको आन्दोलन टुंगिने छ ।

मन्त्रालयले तयार गरेको प्रस्तावमा आन्दोलनरत नेपाल शिक्षक महासंघले पनि सहमति जनाएको छ । सोही आधारमा शिक्षा मन्त्रालयले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्न लागेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईको पहलमा ७ बुँदे प्रस्ताव तयार भएको हो । शिक्षकहरूको मागअनुसार शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट गर्न सकिने विषयहरू समावेश गरेर मन्त्रिपरिषद्मा पेस हुन लागेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले गत वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै आइरहेका छन् ।

मन्त्रालयले बाल विकास शिक्षकको तलब हाल १७ हजार ३ सय बनाउने, शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने, ग्रेड समायोजन गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था गर्ने, दुर्गम भत्ताको व्यवस्था गर्नेलगायत प्रस्ताव तयार पारेको हो ।

त्यस्तै अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायत विषयको प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख २ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । उक्त अधिवेशनमा विधेयक पेस गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ । हालसम्म १०० दफामा छलफल भइसकेको छ ।

शिक्षक महासंघले आफूहरूले उठाएको माग प्रस्तावमा उल्लेख भएअनुसार सम्बोधन भए आन्दोलन फिर्ता लिएर घर फर्कने बताएको छ ।

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा मन्त्रालयसँग ७ वटा विषय तत्काल सम्बोधन गर्ने सहमति भएको बताइन् ।

उनले माग पूरा गर्न सहमतिमा हस्ताक्षर नभएपनि मन्त्रालयले महासंघको सहमतिमै ७ वटा विषय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको बताइन् ।

तर माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि उनले बताइन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका शिक्षक महासंघका पदाधिकारीले माग सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।

चैत्र २० गते देखि आन्दोलन सुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिकसत्र ठप्प पारेर शैक्षिक आन्दोलन सुरु गरेका थिए ।