एमाले माअोवादी एकतामा विवाद कायमै,एकता संयोजन समितिले दियो अन्तिम जिम्मा अोली-प्रचण्डलाई


काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको आजको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज बसेको बैठकले पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदन लगायतका विषयमा छलफल गरेको थियो । दुई पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन ।

एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको थियो । दुवै पार्टीका नेताहरुले वैशाख ९ गते नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement