फेसबुकलाई चुनौती दिने नयाँ सामाजिक सञ्जाल सार्वजनिक


एजेन्सी – विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन् ।

सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ ।

अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ ।

डब्ल्यूटीस्सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ ।

यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ ।

हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन् ।

‘हामी तपाईँहरूले कस्तो सामग्री हेर्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई नै दिनेछौँ र गलत शीर्षक सच्याउने वा खराब पोस्टबारे सचेत गराउने अधिकार दिनेछौँ,’ डब्ल्यूटीस्सोशलको परिचयमा लेखिएको छ ।

उसले खराब प्रयोगकर्तालाई स्थान नदिने जनाएको छ ।

फाईन्यान्शल टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा वेल्सले ठूला सामाजिक सञ्जालहरूले रोजेको विज्ञापनमा आधारित व्यापारिक मोडल नै समस्याग्रस्त भएको बताएका थिए ।

वेल्सले सन् २०१७ मा मिथ्या समाचारलाई चुनौती दिन क्राउडसोर्सिङले चल्नेगरी विकिट्रिब्यून नामक समाचार साइट स्थापना गरेका थिए ।

तर सन् गत वर्ष अक्टोबरमा व्यावसायिक पत्रकारहरूको समूह त्यसबाट अलग्गिएको थियो । दुवैमा वेल्स संलग्न भए पनि डब्ल्यूटीस्सोशल र विकिपीडिया भिन्न संस्था हुन् ।

सामाजिक सञ्जालको विषयका परामर्शदाता जोइ केअर्न्जले नयाँ सामाजिक सञ्जालले स्थापित संस्थाहरूलाई चुनौनी दिन छिटो प्रयोगकर्ताको सङ्ख्या बढाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement