इलाम पुगेर उपराष्ट्रपति पुनले भने ‘अबको प्रतिष्पर्धा समृद्धिका लागि’


इलाम – उपराष्ट्रपति नन्दबहादुर पुनले अबको प्रतिष्पर्धा समृद्धिका लागि हुनु पर्ने बताएका छन् । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० वर्ष पुगेको अवसरमा आयोजित तीन दिने महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विगतमा राजनीतिक प्रतिष्पर्धा भएपनि अब समृद्धिको प्रतिष्पर्धामा लागेर मुलुकलाई समृद्ध बनाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘विगतमा हामीले अनेकौं प्रतिष्पर्धा गर्‍यौं, अब हामीले विकास र समृद्धिका लागि प्रतिष्पर्धामा लागेर समृद्धिको यात्रा तय गरौं ।’ अघिल्लो वर्ष निर्वाचन वर्षको रुपमा वितेकाले अबको वर्ष समृद्धिको वर्षको रुपमा अघि बढाउनु पर्ने उपराष्ट्रपति पुनले बताए । इलामले राजनीतिक परिवर्तनका लागि ठूलो योगदान पुर्‍याएको भन्दै उनले अब समृद्धिका लागि पनि इलामले ठूलो योगदान पुर्‍याउन सक्ने बताए ।

‘इलामः हाम्रो गौरव’ नारासहित शनिबारबाट शुरु भएको महोत्सवमा इलामका विशिष्ट नागरिक इतिहासकार युद्धप्रसाद वैद्यलाई रथारोहणसहित नागरिक अभिनन्दन र सम्मान गरिएको थियो । कार्यक्रममा धरान उपहानगरपालिका र इलाम नगरपालिका बीचको भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा इलामका उत्पादनहरुको स्टलहरु राखिएका छन् । साँकृतिक कार्यक्रम, धार्मिक स्थलमा पूजापाठ कार्यक्रम, साहित्यिक कार्यक्रम, विचार गोष्ठीको आयोजना गरिएको छ । १८७२ मा भएको सुगौली सन्धीपछि नेपालको सीमाना पूर्वको मेची नदी कायम भएपछि ४० भित्र श्रीनाथ पल्टन (गढी० सार्नुपर्ने शर्त राखियो । त्यसपछि कर्फोक, नाम्सालिङ्ग हुँदै १८७५ मा पल्टनसहित गढी इलामको माइस्थानमा सारिएको थियो । सोही समयदेखि इलाम सदरमुकामको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement