काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको समूहप्रति कठोर हुने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका नाममा पार्टीका प्रतीक दुरुपयो गरेको भन्दै कारबाही गर्ने निर्णय पनि गरेको छ।
तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले देउवा समूहप्रति कठोर हुने निर्णय भएको बताएका हुन् ।
कांग्रेसले १५ औँ महाधिवेशन गर्न लागेको देउवा पक्षलाई पार्टीको नाम, लेटरप्याड, चारतारे झन्डा, चुनाव चिह्न ‘रुख’ र अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न भनेको छ।
२०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेटअनुसार गत असोज १६ देखि २३ गतेसम्म भएको १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भइसकेको कांग्रेसले जनाएको छ। उक्त विवरण निर्वाचन आयोगबाट मंसिर ८ गते अद्यावधिक भइसकेकाले देउवा समूहबाट भएका गतिविधिलाई कांग्रेसले अनधिकृत भनेको छ।
पार्टीको आधिकारिक नाम, झन्डा, चुनाव चिह्न वा अन्य प्रतीक प्रयोग गरी गतिविधि सञ्चालन गर्ने तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
कांग्रेसले सरकारका पछिल्ला गतिविधिले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाएको छ। सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर कांग्रेसले काम गर्ने अवसर दिए पनि पछिल्ला गतिविधिले सरकारको सोच, चरित्र र प्रवृत्तिमाथि नै प्रश्न उठाएको महामन्त्री पौडेलले बताए।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा खबरदारी गर्न संसद् र सडकबाट सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
‘संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधि तथा जनहितविपरीतका निर्णयविरुद्ध अब नेपाली कांग्रेस अझ दृढ, मुखर र सशक्त रूपमा उभिनेछ,’ पौडेलले भने।
कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै संविधान र लोकतन्त्रविपरीतका गतिविधि, विधिको शासनमाथिको हस्तक्षेप र जनहितविपरीतका निर्णयको विरोध गर्ने जनाएको छ।
अध्यादेश फिर्ता लिएर संसद् बोलाउन माग
संसद्, संवैधानिक निकाय र राज्यका विभिन्न अंगको अवमूल्यन हुने गरी सरकारले काम गरेको कांग्रेसको आरोप छ। संसद्प्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गर्दै अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको कांग्रेसले ठहर गरेको छ।
प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक बहस नगरी ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसले माग गरेको छ।
संसद् अधिवेशन आह्वान गरी संवैधानिक सीमा, संस्थागत मर्यादा र शक्ति पृथकीकरणको सिद्धान्त पालना गर्न पनि उसले सरकारसँग आग्रह गरेको छ।
जनजीविकाप्रति सरकार उदासीन
मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको, महँगी बढेको र निजी क्षेत्रको आत्मविश्वास घटेको भन्दै कांग्रेसले सरकारको आर्थिक प्राथमिकतामाथि प्रश्न उठाएको छ। आम्दानी र खर्चबीचको अन्तर बढेको तथा साना र मझौला व्यवसायीलाई व्यवसाय चलाउन र बैंकको ऋण तिर्न कठिनाइ भइरहेको उसको निष्कर्ष छ।
सहकारी पीडित, किसान, श्रमिक, उद्यमी र वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधानमा सरकारले पर्याप्त ध्यान नदिएको कांग्रेसको आरोप छ।
सरकारले सय दिनभित्र पूरा गर्ने घोषणा गरेका काम, विभिन्न समुदाय तथा आन्दोलनरत पक्षसँग गरेका सम्झौता र गठन गरेका आयोग तथा समितिको प्रगतिबारे स्पष्ट जानकारी सार्वजनिक गर्न पनि उसले माग गरेको छ।
सीमा मुद्दाबारे नबोलेकोमा असन्तुष्टि
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका केही सहमति र उपलब्धिलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ। भारतले प्रधानमन्त्रीलाई दिएको उच्चस्तरीय स्वागतलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतिबिम्ब भनेको छ।
भैरहवा हुँदै सञ्चालन हुने बी–३४५ हवाई प्रवेश मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई कांग्रेसले स्वागत गरेको छ।
तर हवाई मार्ग सञ्चालनको प्राविधिक प्रक्रिया, विकास सहयोगको पारदर्शिता, ऋणका सर्त र परियोजना कार्यान्वयनबारे सरकारले प्रष्ट कार्ययोजना र समयसीमा ल्याउनुपर्ने उसको माग छ।
भारतसँग लामो समयदेखि समाधान हुन नसकेका सीमा लगायतका संवेदनशील विषय प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकतामा नपरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्रीले विगतमा सार्वजनिक रूपमा उठाउँदै आएका सीमा मुद्दा कूटनीतिक संवादमा नउठाएको भन्दै उनको अभिव्यक्ति र व्यवहारबीच विरोधाभास देखिएको कांग्रेसको टिप्पणी छ।
बाढी प्रभावितको पुनःस्थापनामा ढिलाइ
भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनःस्थापना तथा पुनर्निर्माण योजना ल्याउन नसकेको कांग्रेसले आरोप लगाएको छ।
बाढीको लामो समय बितिसक्दा पनि पीडित नागरिकले घरभाडा, राहत र पुनःस्थापना सहुलियत नपाएको कांग्रेसको निष्कर्ष छ । उनीहरूलाई दिइने राहत पनि गोदाममै थन्किएको भन्दै कांग्रेसले सरकारको निन्दा गरेको छ।


प्रतिक्रिया