सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नबनाउने मुडमा प्रचण्ड, सत्ता गठबन्धन धरापमा!


काठमाण्डु- राष्ट्रियसभाको अध्यक्ष कुन पार्टीले लिने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी माओवादी केन्द्रको आ-आफ्नै दाबी छ । । फागुन २९ मा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि कांग्रेसले पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल प्रचण्ड सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सहमत भएका थिए । तर, हाल भने प्रधानमन्त्री प्रचण्डले परिस्थिति फेरिएको भन्दै सिटौलालाई समर्थन नगर्ने संकेत गरेका छन् ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्ति प्रक्रियाका साथै सविधान निर्माण प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा सिटौला आए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रम अलि भिन्न ढंगले अगाडि गए ।’

माओवादी केन्द्रको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले पनि राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । माओवादी नेताहरुले कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिन नहुने भन्दै प्रचण्डलाई दवाव दिइरहेका छन् ।

गत माघ ११ को राष्ट्रियसभा निर्वाचनअघि नै प्रधानमन्त्री प्रचण्ड सिटौलालाई अध्यक्ष बनाउने सहमति जनाएको कांग्रेस नेताहरूको दाबी छ । तर, हाल भने प्रधानमन्त्री प्रचण्डले माओवादीबाटै राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवार तय गर्ने तयारीमा जुटेका छन् ।

उनले नेपाली कांग्रेसले गठबन्धनमा आफूलाई फाइदा हुने मात्र काम गरिरहेको बताउदैँ आएका छन् । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणामले कांग्रेसले बेइमान गरेको प्रचण्डको बुझाइ छ । त्यस्तै कांग्रेसको महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्ड रुष्ट बनेका छन् ।

बैठकले पारित गरेको महामन्त्री गगन थापाको प्रतिवेदनमा भनिएको छ, ‘२०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो । तर, नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा समर्थक(शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं ।’

कांग्रेसले उक्त निर्णय गरेपछि माओवादीको स्थायी कमिटीका अधिकांश सदस्यहरूले अध्यक्ष प्रचण्डलाई गठबन्धन फेर्नसमेत सुझाव दिइरहेका छन् ।

यसैबीच पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता भइरहेको छ । माघ अन्तिम साता यता ओली र प्रचण्डबीच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । राष्ट्रियसभाको अध्यक्षलाई लिएर कांग्रेस र माओवादीबीच खटपट बढिरहेको बेलामा गठबन्धन फेर्न प्रचण्ड एमालेसँग नजिकिन थालेका हुन भन्ने अनुमान गरिएको छ ।

प्रचण्ड ओलीसँग नजिकिन थालेपछि नेपाली कांग्रेसका नेताहरु भने झस्किएका छन् । यता नेकपा एमालेका नेताहरुले भने कांग्रेसलाई देखाउन मात्र प्रचण्डले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको बताएका छन् । यसपटक भने एमाले माओवादीको जालमा नफस्ने एमाले नेताहरुको भनाइ छ । बुधवार मात्रै एक कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमाले सरकार परिर्वतनको खेलमा नभइ मिसन ८४ को खेलमा लागेका बताएका थिए ।

यता नेपाली कांग्रेस जसरी भएपनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने दाउँमा छ। राष्ट्रियसभा निर्वाचनअघि नै प्रधानमन्त्री प्रचण्डले सिटौलालाई अध्यक्ष बनाउने सहमति जनाएकाले उक्त सहमतिबाट उनी ब्याक नहुने कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement