काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन्। उनले सरकारका सबै निर्णयमा पार्टीले ‘हो मा हो’ नमिलाउने भन्दै आवश्यक परे सरकारसँग जवाफ माग्ने बताए।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। सरकारको यो निर्णयपछि रास्वपाभित्रै पार्टी र सरकारको भूमिकाबारे फरक धारणा सार्वजनिक भएका थिए।
आईजीपी प्रकरणमा पार्टी र सरकारबीच दुईवटा धारणा किन देखिएको भन्ने पत्रकारहरूको प्रश्नमा लामिछानेले सरकारले गरेका कामबारे थप स्पष्टता आवश्यक भए पार्टीले प्रश्न गर्ने बताए।
‘सरकारले गरेका कुरामा थप स्पष्टता चाहियो भने पार्टीले चेक एन्ड ब्यालेन्स गर्नुपर्यो भने सोध्छ। सरकारको निर्णयबारे अलिक फरक धारणा राख्ने र आवश्यक निर्देशन दिने काम पार्टीले गर्छ’, उनले भने।
उनले सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेर संवेदनशील विषय भएकाले सरकारले निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताए।
‘सरकारले काम गर्न आवश्यक कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्नुपर्छ। सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेरमा अत्यन्त संवेदनशील कुरा आएकाले उचित जवाफ समय आएपछि दिने नै छ’, लामिछानेले भने।
सरकारका सबै निर्णयमा पार्टीले समर्थन गर्नुपर्ने बाध्यता नरहेको उनको भनाइ थियो। ‘सरकारले गरेका हरेक काममा पार्टीले हो मा हो मिलाउँदैन। पार्टीले पनि सरकारले भनेका सबै कुरा मान्दैन’, उनले भने।
कार्कीलाई हटाउने विषयमा पार्टीले कुनै निर्देशन नदिएको संकेत गर्दै लामिछानेले पार्टीले आईजीपी, सीडीओ वा डीआईजी परिवर्तन गर्न नभन्ने बताए। उनले जिम्मेवारी हेरफेरका क्रममा गम्भीर विषय उठेकाले सरकारले त्यसबारे जवाफ दिनुपर्ने धारणा राखे।
‘आईजीपी दानबहादुर कार्कीलाई हटाएको प्रकरणमा पार्टीले कुनै कदम चाल्दा सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्छ। त्यो पुष्टि गर्ला, समयको प्रतीक्षा गरौँ। अझै पार्टीले स्पष्टता गर्ला’, उनले भने।
लामिछानेले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने बताए। यस विषयमा पार्टीले सरकारसँग गम्भीरतापूर्वक जवाफ मागेको उनले बताए।
‘सञ्चारमाध्यममा प्रहरी छिरेपछि सरकारसँग पार्टीले गम्भीरतापूर्वक जवाफ मागेको छ। सञ्चारमाध्यममा प्रहरी छिरेको कुरामा आईजीपी हटाएको भए पनि सरकारले समय आएपछि जवाफ देला’, उनले भने।
सरकारका पछिल्ला निर्णय र गतिविधिलाई एउटै डालोमा राखेर मूल्यांकन गर्न नहुने उनको भनाइ थियो। विभिन्न अनुसन्धानका क्रममा सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले प्रत्येक विषयमा सरकारले सम्बन्धित जवाफ दिनुपर्ने बताए।
‘हाउ मच इज टु मच भन्ने प्रश्न हुन्छ। तर, विभिन्न अनुसन्धानका क्रममा सरकारले काम गरिरहेकै छ। सबै कुरालाई एउटै डालोमा हालेर नहेरौँ। सरकारले पनि तत् तत् विषयमा जवाफ देला’, लामिछानेले भने।
उनले अहिलेको घटनाक्रमलाई लिएर आफूलाई सोधिएका प्रश्न र सरकारको सात महिनाको समग्र कामबारे सोधिने प्रश्न फरक हुने पनि बताए।
‘अहिले भएको घटनाक्रममा तपाईंहरूले मलाई सोध्नुभयो। पूरै सात महिनाको जवाफ सोध्नुभयो भने जवाफ दिऊँला। त्यसैले म भन्छु, हाउ मच इज टु मच, सबै प्रश्नको जवाफ अहिले नै नखोज्नुस्’, उनले भने।


प्रतिक्रिया