काठमाण्डु– नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो।
उनका अनुसार तिहारका समयमा देउसीभैलो, मेलापात तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न प्रहरीको विशेष निगरानी बढाइएको छ। सम्भावित जोखिम भएका क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ। भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ। त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेक प्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ।
पटका, भुइँचम्पा, झिरझिरे तथा अन्य विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले बताए। त्यस्ता गतिविधि शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ।
‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो। क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ। त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने।
चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने तथा मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले विशेष निगरानी बढाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको काफ्लेले जानकारी दिए।
म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण, व्यापारिक केन्द्र र भण्डारणस्थलको निगरानी तथा फूलमाला र पूजासामग्री बिक्री हुने स्थानको व्यवस्थापनमा समेत ध्यान दिइएको प्रहरीले जनाएको छ।
यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्ने स्थानमै पुगेर चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरे नगरेको जाँच गरिनेछ। सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्राथमिकता दिइएको छ भने लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्थाको निगरानी गरिने प्रहरीले जनाएको छ।
यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी तथा लुटपाटमा नपरून् भन्ने उद्देश्यले थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए।
त्यस्तै, तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ। लामो समय घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन, बहुमूल्य सामान तथा गरगहना घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ।
लक्ष्मीपूजाका दिन दियो तथा मैनबत्ती बाल्दा पर्दा, कपडा र आगो सल्किने वस्तुबाट टाढा राख्न, बालबालिकालाई प्रज्वलनशील सामग्री नदिन तथा प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न पनि आग्रह गरिएको छ। निगरानीबिना मैनबत्ती तथा दियो बालेर नछाड्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ।
आगलागी, दुर्घटना तथा अन्य विपद्का सम्भावित घटनालाई तत्काल सम्बोधन गर्न प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा सीआरभी टोली तयारी अवस्थामा राखिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको काफ्लेले बताए।
उनले कुनै शंकास्पद गतिविधि, यात्राका क्रममा हुने दुर्व्यवहार, चोरी, लुटपाट वा अन्य आपराधिक गतिविधि देखिएमा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरे।
‘आफ्नो सानो असावधानीले आफूलाई मात्र नभई छरछिमेकीको समेत मानवीय र भौतिक क्षति हुन सक्छ।
त्यसैले सबैले सावधानी अपनाएर अनुशासित र मर्यादित रूपमा चाडपर्व मनाऔँ। नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा छ,’ प्रवक्ता काफ्लेले भने। प्रहरीले तिहारदेखि छठको भोलिपल्टसम्म विशेष सुरक्षा योजना लागू रहने जनाएको छ।


प्रतिक्रिया