राहदानी छपाइ प्रकरणमा जर्मन दूतावासले भन्यो-कार्यवाहक राजदूतलाई सोधपुछका लागि बोलाइएको हो, विरोधपत्र दिएका छैनौँ

राहदानी छपाइ प्रकरणमा जर्मन दूतावासले भन्यो-कार्यवाहक राजदूतलाई सोधपुछका लागि बोलाइएको हो, विरोधपत्र दिएका छैनौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको राहदानी खरिद प्रकरणबारे उठेको भ्रामक समाचारको काठमाण्डुस्थित जर्मन दूतावासले खण्डन गरेको छ ।

दूतावासले राहदानी छपाइ प्रकरणमा नेपालका सञ्चारमाध्यममा कूटनीतिक मर्यादा र तथ्यहरूलाई तोडमरोड गरी गलत जानकारी फैलाइएका भन्दै खण्डन गरेको हो ।

दूतावासले राहदानी खरिद प्रकरणबारे केही गलत र भ्रामक समाचार सार्वजनिक भएको उल्लेख गर्दै नेपालको अदालतमा विचाराधीन मुद्दाहरूमा कुनै टिप्पणी नगरेको र नगर्ने स्पष्ट पारेको छ ।

यसै प्रकरणमा बर्लिनस्थित नेपालका कार्यवाहक राजदूत सागर फुँयाललाई जर्मनीको संघीय विदेश मन्त्रालयमा स्पष्टीकरणका लागि बोलाइएको भन्ने समाचारको विषयमा दूतावासले भनेको छ, ‘यो सानो भिन्नता जस्तो लाग्न सक्छ, तर कूटनीतिक अभ्यासमा यसको विशेष महत्व हुन्छ ।’

यस्तै नेपालका प्रतिनिधिलाई कुनै विरोधपत्र र अन्य कुनै दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले स्पष्ट पारेको छ ।

‘मुद्दाको सुनुवाइको नतिजाका आधारमा हुन सक्ने सम्भावित परिणामबारे कुनै चेतावनी पनि दिइएको छैन’, दूतावासले भनेको छ ।

‘जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्छ । र यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः जर्मन दूतावासले अदालतमा विचाराधीन मुद्दाहरूमा कुनै टिप्पणी गर्दैन र यस प्रकरणमा पनि हामीले कुनै पनि चरणमा टिप्पणी गरेका छैनौँ’, दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासले चलिरहेको कानुनी वा न्यायिक प्रक्रियाको परिणामलाई लिएर जर्मन सरकारले नेपाललाई भविष्यमा पर्न सक्ने असर वा परिणामका बारेमा कुनै पनि प्रकारको चेतावनी वा धम्की नदिएको पनि स्पष्ट पारेको छ ।