सुन प्रकरणमा पक्राउ परेका सातै चिनियाँसँग नेपाली नागरिकता!


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको अवैध ६० किलो बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको थियो ।

उनीहरु सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको थियो । जसले गर्दा गृह मन्त्रालयले उपसचिव कृष्णबहादुर कटवालको संयोजकत्वमा छानबिन गर्न बाध्य बनेको थियो । गृह मन्त्रालयले छानबिन गरेको भए पनि कति चिनियाँहरुले नेपालको कुन-कुन जिल्लाबाट नागरिकता लिएका छन् भन्ने बारेमा कुनै तथ्यांक छैन ।

सुन प्रकरण प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो । त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्बतियन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

उनीसँग नेपाल र बेल्जियम दुई देशको नागरिकता रहेको खुल्यो । त्यसैगरी यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परे । साउन २९ गते मात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए । उनीहरुबाट ३१ लाख रुपैयाँसँगै नेपाली नागरिकतासमेत बरामद भएको थियो ।

उनीहरु सबैको जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता भेटिएको थियो । शुरुआती क्रममा नेपाली नागरिक र तिब्बतियन मुलका एक भारतीय पक्राउ परेकाले नेपाली भारतीयको संलग्नतामा तस्करी भएको हुन सक्ने शंका गरिएको थियो ।

तर पक्राउ परेकामध्ये अधिकांश चिनियाँ हुनु र उनीहरुकै भूमिका मुख्य देखिएकाले सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको भूमिका मुख्य देखिएको छ ।

नेपालका हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, सोलुखुम्बु, संखुवासभा, हुम्ला, जुम्ला, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुबाट यसरी अनधिकृत रुपमा चिनियाँहरुले नागरिकता लिएको स्रोतको दाबी छ ।

जोडियो क्रिप्टोकरेन्सी
६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताएका छन् ।

सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उहाँलाई अनुसन्धानमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement