बहिनीको बिहेमा घर गएर फर्किएका प्रहरी जवान २३ दिनदेखि वेपत्ता


काठमाण्डु – गोरखामा एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका– २ घर भई हाल प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी जवान मोहनसिँह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहिन भएका हुन् । बहिनीको बिहे भन्दै घरबिदामा गएर फर्किएका जवान बाटोबाटै वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका प्रहरी उपरीक्षक शेखर खनालले सम्पर्कविहिन भएकोबारे चार दिनपछि थाहा पाएको बताए । उनको खोजी तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले इलाका प्रहरी कार्यालय आरुघाटमा कार्यरत प्रहरी निरीक्षक संयोजक रहेको खोजबिन तथा छानबिन समिति गठन गरी काम गरिरहेको बताए ।

५२ कोस टाढा रहेको सामागाउँ पुग्न गोरखा सदरमुकामबाट एकदिन मोटरबाट र चार दिन पैदल हिड्नुपर्छ । असार एकगते बिहान उनलाई साथीहरुले धार्चे गाउँपालिका–३ तातोपानीसम्म पुर्‍याएर फर्किएका थिए । तर त्योभन्दा माथिको बाटैमा पर्ने जगत प्रहरी चौकी, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन् । ११ वर्षअघि प्रहरी सेवामा भर्ना भई कार्यरत कुँबर गत चैतदेखि प्रहरी चौकी सामागाउँमा गत चैतदेखि सेवारत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement