विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन् ।
प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए ।
उनले भने, ‘यो पनि संवैधानिक व्यवस्था हो, जनतालाई राहत दिनका लागि गरिएको काम भएको र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरंकुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले आरोप लगाउनका लागि गरिएको चर्चा भएको बताए ।
नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उनले बताए । उनले भने, ‘अहिले राजस्व वृद्धि भइरहेको छ । सरकारका पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ, अर्थतन्त्र चलायमान भएको छ ।’
कोशी प्रदेशमा पनि २५% ले राजस्व वृद्धि गरेको चर्चा गर्दै उनले प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताए । उनले पछिल्लो समयमा सञ्चारमाध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ समाचारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
उनले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आमसञ्चार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी यसपटक कानून पास गरेरै पत्रकारको हितमा काम गर्छौं,’ मुख्यमन्त्री कार्कीले भने ।
प्रतिक्रिया