पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन


झापा – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरे ।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए । उनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको जिसस प्रमुख पोर्तेलले जानकारी दिए।

काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा मन्त्री कार्कीले सोधपुछ गरेको पोर्तेलले बताए ।

नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement