कार्यविधि मिच्दै गृहमन्त्रालय,नियमविपरित दाहालको सुरक्षामा डीएसपी खटाईयो


काठमाण्डु – सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि मापदण्डविपरीत सुरक्षाकर्मी खटाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै गृह मन्त्रालयले उनको सुरक्षामा डीएसपीको कमान्डमा एक दर्जन प्रहरी थपेको हो । गृहसचिव महेश्वर न्यौपानेले सचिवस्तरीय निर्णय गर्दै सुरक्षाकर्मी खटाउन निर्देशन दिएका छन् ।

सरकारको निर्णयलगत्तै नेपाल प्रहरीका डीएसपी विनोद घिमिरे एक दर्जन प्रहरीसहित खुमलटार पुगिसकेका छन् । अव दाहालको सुरक्षामा डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।

केपी ओली नेतृत्वको सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहाललगायतका धेरै भिभिआईपी र भिआईपीको सुरक्षामा खटिएकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि उनिहरुले सुरक्षाकर्मीहरुको दुरुपयोग गरेको भन्दै आलोचना भएपछि सरकारले उक्त निर्णय गरेको हो ।

दाहालको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५५ जना सुरक्षाकर्मी खटिएका थिए । जसको कमाण्ड डीएसपीले गर्दै आएका थिए । तर, ओली सरकारले १८ जना मात्र उनको सुरक्षामा खटाउने निर्णय गरेको थियो ।

गृहले बनाएको कार्यविधीमा पूर्वप्रधानमन्त्रीका लागी १८ जना सुरक्ष्ाँकर्मी मात्र खटाउन पाउने मापदण्ड भएपनि गृहसचिव महेश्वर न्यौपानेले ‘सचिवस्तरीय निर्णय’ गरी दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका हुन । सचिव न्यौपानेलाई पनि गृहमन्त्रालयबाट सरुवा गर्ने अन्तिम तयारी छ । उनले गृहमन्त्री बालकृष्ण खांडको दबावमा डीएसपी खटाउने निर्देशन दिएका हुन ।

सरकारले पूर्वपदाधिकारी तथा विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेपछि दाहालले माओवादी पूर्वलडाकु प्रकाशचन्द्रपाण्डेसहितलाई आफ्नो सुरक्षामा खटाएका थिए । तर, पाण्डेसहितको टोलीलाई फेरी फिर्ता गरिएको छ । यसअघि सरकारले बनाएको मापदण्डपछि करिब ५ सय प्रहरी र सशस्त्र प्रहरी नेताको सुरक्षाबाट फिर्ता भएका थिए । तर,पछिल्लो समय फेरी गृहले कार्यविधी मिचेर अगंरक्षक खटाउन थालेको छ । नयां सरकार गठन भएपछि प्रभावशाली नेताहरुको दबावमा गृहले अंगरक्षक खटाउन थालेको स्रोतको दावी छ । गृहमन्त्रालयले नेता र पुर्वमन्त्रीलाई सुरक्षाकर्मी खटाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

‘नयां सरकार बनेलगत्तै पहुंच र प्रभावका आधारमा फेरी सुरक्षाकर्मी खटाउने काम भइरहेको छ । पूर्वपदाधिकारीका लागी गृहमन्त्रालयले बनाएको सुरक्षा मापदण्डमा जनशक्तिको संख्या किटान गरेकै छ । तर,त्यसविपरित सुरक्षाकर्मी खटाएर नियम मिच्ने काम सुरु भयो ।’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।

सरकारले बनाएको मापदण्डमा पूर्वराजालाई १६ सशस्त्र र २ प्रहरी, पूर्वराष्ट्रपतिलाई २१ सेना, पूर्वउपराष्ट्रपतिलाई ११ सशस्त्र र २ प्रहरी, पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र र २ प्रहरी आजीवन उपलब्ध गराइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement