ह्वावे मोबाइल नेपाल कंग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु


काठमाण्डु – आइसीटी फाउण्डेसन नेपालले हवावेसँगको सहकार्यमा आयोजना गरेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ शुक्रबारबाट सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कन्क्लेभको उद्घाटन गरेका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्वमन्त्री गणेश शाह, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, विभिन्न संगठनहरुका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुका साथै सूचना प्रविधि क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो ।

फायर साइड पावर संवादमा प्रविधिमन्त्री शर्माले नेपालमा हालै सूचना प्रविधिको विकासमा भइरहेको विकासको बारेमा आफ्नो भनाई राख्दै सोचमा समेत परिवर्तन आएको बताइन् ।

पहिले सूचना प्रविधिको क्षेत्र केवल मनोरन्जनको लागि भनेर बुझ्ने गरिएकोमा हाल आएर उत्पादन उद्योग र डिजिटल इकोनोमीको लागि पनि हो भनेर बुझिएको, नेपाल सरकार डिजिटल प्रविधिको प्रयोग अभिवृद्धि गर्न र यसको लागि आवश्यक जनशक्तिहरुलाई नेपालमा नै उचित सुविधा प्रदान गर्न लागि परेको समेत बताइन् ।

ह्वावे साउथ एशिया रिजनल कार्यालयका अध्यक्ष पान जिनफेङ्गले भने “डिजिटल नेपालको अनुभूति पूर्वाधारको स्तरोन्नति र औद्योगीक डिजिटल रुपान्तरणबाट भिन्न छैन । ह्वावेले नेपालको आइसिटि डोमेनमा विगत २३ वर्षभन्दा अघिदेखि काम गर्दै आइरहेको छ । नेपालको लागि नेपालमै भन्ने लक्ष्यका साथ हामीहरु सक्षम डिजिटल नेपाल निर्माण गर्न आइसिटि विकासमा समर्पित हुन र स्थानीय आइसिटि प्रतिभाहरु र इकोसिस्टमको विकास गर्न कटिबद्ध छौं । ह्वावे एमएनसि र डिजिटल नेपाल कन्क्लेभले उद्योगको विकास गर्नमा मद्दत पुग्नेछ ।”

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशबाट आएका आइसीटी विज्ञहरुसहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागीतामा विभिन्न ६ वटा विषयहरुमा १५ वटा सत्रहरु संचालन हुनेछन् । कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बँगलादेशका विषयगत विज्ञहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको पहिलो दिन ह्वावे एशिया प्रसान्त क्षेत्रका सिनियर इण्डस्ट्री सोलुसन्स एक्सपर्ट ली यु सेङ्गले सार्वजनिक सेवाहरुको डिजिटल रुपान्तरणलाई सक्षम बनाउने विषयमा आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए र वल्र्ड लिन्कका अध्यक्ष दिलिप अग्रवालले डिजिटल क्षमताहरुमा कार्यपत्र पेश गरेका थिए । “फोस्टरिङ्ग डिजिटल्ली सक्षम नेपाल” भन्ने नाराका साथ आयोजना भैरहेको उक्त कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता एवं आवश्यक नीतिहरु र त्यसको कार्यान्वयनमा जोड दिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement