असुरक्षित बन्दै सरकारी बैंक : कृषि विकास बैंक ह्याक गरेर लुटियो १४ करोड ६७ लाख


काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका छन् ।

विदेशी ह्‍याकरहरुको समूहले नेपालस्थित विभिन्‍न ४० भन्दा धेरै व्यक्तिहरुलाई एजेन्टका रुपमा प्रयोग गरेर कृषि विकास बैंकबाट रकम लुटेका हुन् । पछिल्ले समय सरकारी बैंकहरु ह्याकरको निशानामा पर्दै आएका छन् ।

लुटेराहरुले सामाजिक सञ्‍जाल फेसबुक, भाइबर, ह्वाटसप ईमोमार्फत् चिठ्ठा परेको बताएका थिए । त्यससँगै पार्सल आएको भनेर प्रलोभन देखाउँदै ठगी गरेको पनि खुलेको छ ।

प्रहरीले कृषि विकास बैंकमा भएको ह्‍याकबारे अनुसन्धानबाट खुले पनि अन्य बैंकबाट पनि रकम लुटिएको हुन सक्ने अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार ह्‍याकरले कृषि विकास बैंकसँगै पानस रेमिटबाट पनि रकम लुटेका छन् । रकम लुटपाटमा संलग्न ३ जनालाई महानगरीय प्रहरी परिसरले बुधबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई राजधानीबाटै मंगलबार हिरासतमा लिइएको थियो । सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको फुलपा गाउँपालिका–२ स्थायी घर भएका रमेश खड्का, नवलपरासीको रामग्राम–१७ घर भएका विश्वेरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् ।

यो रकम लुटपाटका नाइकेमा नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिस रहेका छन् । यो योजना नेपालमै बसेर बनाइएको खुलेको छ । लुटपाटमा संलग्‍न पिटर सन् २०१० देखि नेपालमा बस्दै आएका थिए ।

पक्राउ परेकामध्ये एक रमेश खड्काको ठमेलस्थित बुद्ध होटेलमा बस्ने गरेका थिए । त्यही होटलमा बस्दा बस्दै चिनजान भएर लुटपाटको योजना बनाएका थिए । लुटपाटमा संलग्न अर्का युवक विशेश्वरप्रसाद हाल ठमेल किचनका रुपमा सञ्‍चालित त्यही होटलका श्रमिक हुन् ।

यो रकम लुटपाटमा संलग्न भनिएका सन्दीप कलवारले मनी चेञ्‍जर कम्पनी चलाइरहेका खुलेको छ । यो समूहले कृषि विकास बैंक र पानस मनी ट्रान्सफरबा रकम लुट्ने क्रममा विभिन्‍न १७ भन्दा धेरै बैंकबाट कारोबार गरी रकम निकालेको खुलेको छ ।

लुटेराहरुले सनराइज बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, प्रभु बैंक, नबिल बैंक, लुम्बिनी बैंक, माछापुच्छ्रे बैंक, एसबीआई बैंक, एनबी बैंक, ग्लोबल बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र लक्ष्मी बैंकबाट कारोबार गरेको भेटिएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement