राजीनामा दिन इमरान खानलाई दुई दिने ‘अल्टिमेटम’


इस्लामाबाद – पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ ।

विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको हो । विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख मानिस सहभागी भएको दावी गरेका छन् ।

मार्चमा सहभागी विपक्षी नेताहरुले प्रधानमन्त्री इमरान खानलाई २ दिनभित्रै राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्रीलाई राजीनामा दिन वा घर जान दुई विकल्प रहेको भन्दै उनीहरुले दबाव दिएका छन् ।

मौलानाले प्रदर्शनकारीलाई सम्बोधन गर्दै यस्तो ‘अल्टिमेटम’ दिएका हुन् । ‘हामी इमरानलाई दुई दिनको समयावधि दिन्छौँ, उनले राजीनामा दिउन् वा घर जाउन्,’ मौलानाले भने ।

इमरानले देश बेचेको भन्दै उनले आक्रोशित बन्दै भाषण गरेका थिए । मार्चमा नवाज शरिफका भाइ शहबाज र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो लगायत विपक्षी नेताहरु सामेल थिए ।

दुई दिनअघि तेजगाम एक्सप्रेस रेल दुर्घटनापछि रेलमन्त्रीले राजीनामा नदिएपछि पनि इमरान सरकारलाई विपक्षीको दबाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement