‘इन्काउन्टर’मा मारिएका आफन्तले आयोगमा उजुरी दिए– ‘प्रहरीले गैरन्यायिक हत्या गर्यो’


काठमाडौं– भक्तपुरको डोलेश्वरस्थित घ्याम्पेडाँडामा सोमबार प्रहरी ‘इन्काउन्टर’ मा मारिएका अजित तामाङ र गोपाल तामाङका आफन्तले मानव अधिकार आयोगमा उजुरी दिएका छन् । मृतक द्वयमाथि प्रहरीले नियतवश गोली चलाएको र यो गैरन्यायिक हत्या भएको दाबी गर्दै उजुरी दिइएको हो ।

पेप्सीकोला काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरणपछि भएको हत्याका विषयमा छानबिन तथा दोषीको खोजी गर्नेक्रममा प्रहरीले उनीहरूमाथि गोली चलाएको थियो । प्रहरीको गोली लागी तामाङ द्वयको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक तामाङका परिवारले घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्नसमेत आयोगसमक्ष अनुरोध गरेका छन् । इन्काउन्टरमा मारिएका भनिएकालाई प्रहरीले उनीहरू बसेको भक्तपुर एउटा घरबाट गाडीमा राखेर लगेको थियो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीले तामाङ द्वयलाई भक्तपुरबाट रातो गाडीमा राखेर लगेको थियो । र, केही समयपछि दुवै जना इन्काउन्टरमा मारिएको खबर आयो । यसमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहको गम्भीर त्रुटी भएको सर्वत्र आलोचना भएको छ ।

मानव अधिकारका अगुवा चरण प्रसाईंले दोषी भनिएका व्यक्तिको हत्या प्रहरीले भनेभन्दा फरक रहेको अभिव्यक्ति दिएका छन् । उनका अनुसार वालक हत्या सर्वत्र निन्दाको विषय हो । तर, प्रहरीले दुवै व्यक्तिको हत्या गरेपछि हत्याको प्रमाणसमेत मेटिएको बताएका छन् ।

प्रहरीको यस्तो क्रियाकलापले देशमा अस्थिरता र गैरन्यायिक हत्याको बाटो फराकिलो हुने प्रसाईंको तर्क छ । प्रहरीले दाबी गरेको इन्काउन्टरलाई पनि उनले ‘फेक इन्काउन्टर’ भनेका छन् ।

जानी जानी गोली हानिएकाले दोषीमाथि कारबाही हुनुपर्नेमा प्रसाईंले जोड दिएका छन् । दोषी र अपराधीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने धारणा राख्दै उनले भनेका छन्, ‘न्याय वा सुरक्षा क्षेत्रमा काम गर्ने कसैले पनि कानुनलाई हातमा लिने गल्ती गर्नु हुँदैन ।’

सामाजिक बलात्कार, अपराध तथा हत्याका घटना बढिरहेकोमा सरकार अक्षम देखिएको उनको तर्क छ । सरकार कमजोर भएकै कारण मानवअधिकार उल्लंघन गर्ने र कानुन हातमा लिने घटना बढिरहेको उनको भनाइ छ ।

राष्ट्रियसभामा प्रश्न

कक्षा ६ मा पढ्ने खड्काको हत्या गरेका तामाङ द्वयको गैरन्यायिक हत्या भएको विषय प्रतिपक्षका सांसदले बुधबार राष्ट्रिय सभामा समेत उठाएका छन् । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले बालकको हत्या हुनुमा अपहरणकारीको मात्र दोष हो वा सरकारी निकायको भन्ने प्रश्न गरेका छन् ।

‘दोषी भनिएकालाई सुरुमा नियन्त्रणमा लिइएर मारी इन्काउन्टर भनिएको छ, यो मानव अधिकार हनन्को दुखद पक्ष हो,’ अधिकारीले भने, ‘समाजमा अपराध गर्ने र त्यसको संरक्षण गर्ने संस्कार हाबी भएको छ । यसको जवाफ सरकारले दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement