स्वतन्त्र प्रमुखलाई काम गर्न कतिको सहज ?


काठमाण्डु – २०७९ सालको स्थानीय तहको निर्वाचन नतिजा २०७४ को भन्दा फरक आएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा फरक आउनुको कारण स्वतन्त्र उम्मेदवारको उदय हुनु हो  ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार विजयी नभएका भने होईनन् । तर अहिलेको स्थानीय तहको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारहरू महानगरपालिका र उपमहानगरपालिकामा समेत विजय हुन सफल भए ।

 स्थानीय तहको निर्वाचन अन्तर्गत एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसअनुसार बालेन्द्र साह (काठमाण्डु महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर) को प्रमुखमा विजयी भएका हुन् ।

 यसरी महानगर र उपमहानगरमा समेत ठुल-ठुला राजनीतिक दलहरूलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी हुनुलाई जनताहरूले राजनीतिक दल होइन विकास र परिवर्तन चाहेको कुरा प्रष्ट देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले उठाएका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारलाई जनताले विश्वास गर्न पुगे । तर स्वतन्त्रबाट पालिका प्रमुखमा विजयी भएकाहरूलाई काम गर्न असहज हुने धेरैको आँकलन छ । यता स्वतन्त्रबाट विजयी भएका पालिका प्रमुखहरूलाई राजनीतिक स्वार्थ भन्दा माथी उठेर जनताको इच्छा चाहना अनुरूप काम गर्न चुनौति थपिएको छ ।

स्वतन्त्रबाट विजयी भएका  मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढे सफलता मिल्नेछ ।

स्वतन्त्र प्रमुखलाई काम गर्न असहज छैन : डा. हिक्मत बिष्ट

सुशासन विज्ञ डा. हिक्मत बिष्टले स्थानीय तहको निर्वाचन अन्तर्गत स्वतन्त्रबाट विजयी भएकाहरूलाई काम गर्न असहज नभएको बताएका छन् । उनले स्वतन्त्र प्रमुखलाई काम गर्न दिइएन भने प्रदेश र संघको चुनावमा राजनीतिक दलहरूलाई धक्का लाग्ने काठमाण्डुपाटीलाई बताए ।

स्थानीय तहको निर्वाचन अन्तर्गत एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अव स्थानीय तहमा विजयी भएकाहरूलाई काम गर्न असहज छ की छैन ? भन्ने प्रश्नमा डा.बिष्टले भने, ‘ अब स्वतन्त्रबाट विजयी भएकाहरूलाई काम गर्न राजनीतिक दलहरूले केही बाधा पुर्याए मात्र असहज हुन्छ भन्ने हो ।

अब पार्टीहरूले काम नगरेकै कारण आज यो नतिजा आएको हो । फेरि राजनीतिक दलहरूले स्वतन्त्रबाट विजयी भएकाहरूलाई काम गर्न नदिए पछि प्रदेश र संघको चुनावमा जनताले नेताहरूलाई ठेगान लगाउने छन् । त्यसकारण पनि स्वतन्त्र प्रमुखलाई काम गर्न असहज छैन् ।’

त्यसैगरी उनले स्वतन्त्रबाट विजयी भएकाहरूले आफूलाई काम गर्न असहज भयो भने जनताको सहयोग लिने माध्यम बनाउन सक्नुपर्ने दावी गरे ।  ‘जनताले आशा गरेको स्वतन्त्र प्रमुखबाट एउटा पारदर्शिता र उत्तरदायित्व हो । स्वतन्त्र प्रमुखहरूले यी दुई वटा कुरामा ध्यान दिएर अगाडि बढ्यो भनेदेखि काम गर्न असहज छैन् ।

अर्को कुरा भनेको यदी स्वतन्त्रबाट विजयी भएकाहरूले आफूहरुलाई काम गर्न असहज भएको खण्डमा जनताको सहयोग लिने माध्यम बनाउन सक्नु पर्दछ । अनी जुन स्थानीय पालिकाको बोर्ड बैठक बस्छ । त्यो बैठकबारे स्वतन्त्र प्रमुखले जनतालाई जानकारी गराउनु पर्दछ’, उनले भने ।

राजनीतिक दल स्वतन्त्र प्रमुखलाई सहयोग गर्न सकरात्मक  

राजनीतिक दलहरुले पनि स्वतन्त्रबाट विजयी पालिका प्रमुखहरूलाई सहयोग गर्ने बताउँदै आएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरुलाई स्वतन्त्रबाट विजयी भएकाहरुलाई सहयोग जुटाउन आग्रह गरे ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले काठमाण्डु महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई  जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।

त्यस्तै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने प्रचण्डको भनाइ छ ।  

यता स्वतन्त्र उम्मेदवारहरू पनि सबै सँग सहकार्य गरेर जाने दावी गरेका छन् ।  त्यसैगरी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालपनि स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएकाहरु प्रति सकरात्मक देखिएका छन् ।  उनले पनि दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement