भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणमा ठुलो मात्रामा सैनिक सामाग्री हस्तान्तरण गर्ने तयारी


काठमाण्डु – भारतीय सेनाका स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल भ्रमणमा आउने तय भएको छ । त्यसको पुष्टि दुवै देशका सेनाले आधिकारीक रुपमा गरिसकेका छन् । भारतीय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य रुपमा भएको नेपाल भ्रमणपछि नरभाने काठमाण्डु भ्रमणमा आउंदैछन् । यद्यपी सेनाअध्यक्ष नरभानेको भ्रमण गाेयलको नेपाल भ्रमणअघि नै तय भएको हो ।

उनको भ्रमणको तयारी दुवै देशका सेनाले तिव्र रुपमा गरिरहेका छन् । भारतिय सेनाअध्यक्षको नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाले ठुलो सैन्य सहयोग समेत हस्तान्तरण गर्ने तयारी छ ।

सेनाअध्यक्ष नरभाने चार सदस्यीय भ्रमण दलका साथ काठमाण्डु आउंदैछन् । उनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता समेत गर्नेछन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनि यसअघि नै नेपाल भ्रमणमा आउने तयारी भएपनि नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि सरकारले उनको भ्रमण स्थगित गरेको थियो । त्यसपछि भारतले उनको भ्रमणको लागी निकै पहल गरेपनि मिति भने तय भएको थिएन् । तर, पछिल्लो दुवै देशका सरकार प्रमुखबीच संवाद भएसंगै भारतिय सेनाअध्यक्ष भ्रमणको तयारी अघि बढेको हो । नेपाली सेनालाई भारतिय सेनाले उनको भ्रमणको लागी पटक पटकको आग्रहपछि मिति तय भएको सैनिक स्रोतको दावी छ ।

भारतीय सेनाअध्यक्ष नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न आउन लागेको भएपनि नेपाल भ्रमणको क्रममा उनले उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ । नरभानेले आफ्ना समकक्षी थापासंग एक्लै र द्धिपक्षीय वार्ता गर्ने तयारी समेत छ । भारतमा नै नेशनल डिफेन्स कोर्स गरेका सेनापति थापाले भारतिय सेनाको मानार्थ महारथीको पदवी गत वर्ष नै ग्रहण गरिसकेका छन् । तर, भारतिय सेनाअध्यक्षले भने सेनापति भएको एक वर्ष पुगिसक्दा समेत उक्त पदवी ग्रहण गर्न पाएका छैनन् ।

भारतीय सेनाका सेनाअध्यक्षको नेपाल भ्रमणपूर्व भारतले नेपाली सेनालाई केही सैनिक सामाग्री समेत हस्तान्तरण गरिसकेको छ । उनको भ्रमणको बेला समेत सेनालाई ठुलो मात्रामा भेण्टिलेटर र २ वटा अस्पतालको सामाग्री हस्तान्तरण गर्ने तयारी छ । दुवै देशका सेनाका अधिकारीहरु त्यसैको तयारीमा जुटेको सैनिक स्रोतले जानकारी दियो ।

‘करिव ४०, ५० करोडसम्मको मेडिकल सामाग्री र सेनालाई आवश्यक पर्ने सवारी साधनलगायतका सामाग्री हस्तान्तरण गर्ने तयारीमा छौं । हामी त्यसको तयारीमा जुटेका छौं, सवै तयारी पुरा भयो भने सेनाअध्यक्षकै भ्रमणको बेला हस्तान्तरण हुन्छ । यदी भएन भने अहिले घोषणा भएर पछि हस्तान्तरण गर्छौ ।’ स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

भारतीय सेनाअध्यक्ष भ्रमणको क्रममा नेपाली सेनासंगको सैनिक सम्बन्धलाई मजबूत बनाउने, दुवै देशबीच हुंदै आएका संयुक्त सैनिक अभ्यासलाई अझै प्रभावकारी ढंगले अघि बढाउने र क्षेत्रीय र अन्र्तराष्ट्रिय सुरक्षा परिस्थितीको बारेमा समेत छलफल हुनेछ । उनले त्यसबारेमा कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसंग अन्तरक्रिया गर्दै आफ्ना धारणाहरु समेत राख्ने कार्यक्रम तय भएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद चर्किएको थियो । त्यसपछि नेपालले उक्त भुभागलाई नेपालको नक्सामा राखेर नयां नक्सा प्रकाशित गरेसंगै नेपाल भारत सम्बन्धमा चिसो पना सुरु भएको हो । यसअघि भारतले नेपालमा नाकाबन्दी लगाउंदा समेत दुवै देशको सम्बन्ध चिसिएको थियो । नेपालले संविधान जारीगरेसंगै भारत नेपालसंग चिढिएको थियो ।

त्यसपछि दुवै देशको नेतृत्वको बिचमा संवाद बन्द भएको थियो । पछि नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमण भएको थियो । उनकै पहलमा दुवै देशको राजनीतिक नेतृत्वबीच सम्वाद सुरु भएको थियो । त्यो बेला समेत केपी शर्मा ओली नै प्रधानमन्त्रीको भुमिकामा थिए । उनकै निर्देशनमा सेनाका तत्कालिन उपरथी हिमालय थापा र सेनापति राजेन्द्र क्षेत्रीले मध्यस्थता गरेका थिए ।

सेनापतिको भारत भ्रमणलगत्तै प्रधानमन्त्री ओलीले भारतको भ्रमण गरेका थिए । यसपटक पनि प्रधानसेनापति थापाको पहलमा उनले भारतसंग संवाद थालेको धेरैको बुझाई छ । सेनाले उनको भ्रमणलाई नियमित र पारस्परिक भएको दावी गरेपनि यसको पछाडी सम्बन्ध सुमधुर गर्ने राजनीतिक अभिप्राय देखिएको बताइन्छ ।

भारतको चर्को रुपमा आलोचना गर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारीलाई कतिपय भारतसंगको सम्बन्धलाई सुमधुर गर्ने प्रधानमन्त्रीको प्रयासको रुपमा समेत बुझेका छन् । हाल रक्षामन्त्रालय समेत प्रधानमन्त्री ओलीले नै राखेका छन् ।

भारतिय सेनाअध्यक्षको भ्रमणपछि उक्त मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायामाझीलाई दिने तयारी छ । त्यसमा प्रधानसेनापति थापाको पनि सकरात्मक भुमिका रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement