भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर


काठमाण्डु – भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क स्पर र भारतिय समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीच दिल्लीमा टु प्लस टु बैठकपछि उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारत र अमेरिकाको चीनसंग विवाद बढिरहेको बेला दुवै मुलुकले रक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुवै मुलुकबीच मंगलवार हैदरावाद हाउसमा भएको ‘बेसिक एक्सचेन्ज एन्ड को–अपरेशन एग्रिमेन्ट’ लाई चीनसंग जोडेर विश्लेषकहरुले हेरेका छन् ।

जसअनुसार संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु आदान प्रदान गर्ने,भारतले क्षेप्यास्त्र हमलाका लागी विशेष अमेरिकी डेटा प्रयोग गर्नसक्ने छ । भारतको यो सूचनामा पहुंच वृद्धि भएसंगै मिसाइल, ड्रोनलगायतको आक्रमणमा सहज हुने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी विदेशमन्त्री पोम्पियोले भारत आफ्नो अखण्डताको लागी धेरै खतरासंग लडिरहेको भन्दै भारतलाई अमेरिकाको साथ रहेको बताए । गलवानमा चिनद्धारा मारिएका भारतिय जवानहरुलाई श्रदान्जली गर्न आफु युद्ध स्मारक गएको र उनिहरुले भारतको लागी आफ्नो प्राण दिएको अभिव्यक्ति समेत पोम्पियोले दिएका थिए ।

उनले चिनियां कम्युनिष्ट पार्टी लोकतन्त्रको समर्थक नभएको आरोप लगाए । पोम्पियोले भने ‘चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा सारा विश्वले देखिरहेको छ । हामीलाई खुशी लागिरहेको छ कि भारत र अमेरिका केवल चीनसंग मात्र नभई हरेक खतराविरुद्ध आपसी सहयोग मजबुत तुल्याउन कदम बढाइरहेका छन् ।’

भारतिय रक्षामन्त्री सिंहले भारत र अमेरिकाबीच सैन्य सहयोग बढ्दै गएको बताए । उनले रक्षा क्षेत्रमा आत्मनिर्भर भारतको लागी अमेरिकासंगको सहकार्य भएको स्पष्ट पारे । उनकाअुनसार दुवै देशबीच व्यापार प्रविधि आदान प्रदान हुनेछ ।

अमेरिकी रक्षामन्त्री एस्परले भारतसंग साइबर,अन्तरिक्ष र समुन्द्री सुरक्षाका वारेमा छलफल भएको बताए । उनले भारतसंग जिओ स्पेश इन्फर्मेसन आदान प्रदान गर्ने सहमति भएको जानकारी दिए ।

त्यसैगरी भारतिय विदेशमन्त्री जयशंकरले अमेरिकासंग विश्वव्यापी रणनैतिक साझेदारीका विषयमा छलफल भएको बताए । उनकाअुनसार दुवै देशबीच विज्ञान र प्रविधि सहयोग सम्बन्धी छलफल हुनुका साथै क्रस बोर्ड आतकंवादबारे पनि गहिरो छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement