चार सदस्यीय भ्रमण दलका साथ नोभेम्बर ४ मा नेपाल आउंदै भारतीय सेनाअध्यक्ष नरभाने


काठमाण्डु – भारतीय सेनाका स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलले भारतीय सेनाअध्यक्ष तीन दिने नेपाल भ्रमणमा आउन लागेको पुष्टि गरे । सेनाअध्यक्ष नरभाने चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको सेनाले जनाएको छ ।

तिन दिने भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण गर्नुका साथै आफ्ना समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासंग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि नरभानेको नेपाल भ्रमण स्थागित भएको थियो । भारतिय सेनाअध्यक्षको नेपालमा भ्रमणका क्रममा सीमा विवादबारे अनौपचारिक रुपमा छलफल हुने अपेक्षा गरिएको छ ।

नरभाने सेना प्रमुखमा नियुक्त भएको एक वर्ष सम्म पनि उनले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह ग्रहण गर्न पाएका छैनन् । नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने परम्परा छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नेपाल भ्रमणको क्रममा उनले आफ्ना समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद चर्किएको थियो । त्यसपछि नेपालले उक्त भुभागलाई नेपालको नक्सामा राखेर नयां नक्सा प्रकाशित गरेको थियो । त्यसमा भारतले विरोध जनाएपछि दुवै देशबीच लामो समय संवादहिनताको अवस्था थियो । भारतीयसेना प्रमुखले त्यही विचमा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि सरकारले उनको भ्रमण स्थगित गरेको थियो ।

गत साता मात्र भारतिय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपालको भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement