काठमाण्डु–नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ फरार भएका छन् ।
बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । उच्च प्रहरी श्रोतका अनुसार बानियाँ केही दिनयता परिवारको समेत सम्पर्कमा छैनन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बानियाँलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) श्रोतले जनाएको छ ।
सीआईबीको टोली उनको खोजीमा परिचालित भइसकेको छ ।
बानियाँमाथि विभिन्न चारवटा बाणिज्य बैंकबाट ‘भूगर्भ सिमेन्ट कम्पनी’ का नाममा लिइएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप छ ।
सोही प्रकरणमा उनका छोरा दीक्षान्त र पूर्वमुख्यमन्त्री बानियाँका भाई ऋषि पक्राउ परिसकेका छन् ।
सीआईबीले दीक्षान्तलाई गत १६ कात्तिकमा रुपन्देहीको भैरहवाबाट बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।
दीक्षान्तलाई भेट्न पुगेका उनका काका ऋषि त्यसको भोलिपल्ट पक्राउ परेका थिए ।
छोरा र भाई पक्राउ परेपछि पूर्वमुख्यमन्त्री बानियाँ सम्पर्कविहीन छन् ।



प्रतिक्रिया