जनकपुर– मधेश प्रदेशमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन भएको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच बहुमतको सरकार गठनका लागि सहमति जुट्न नसकेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दलका नेताको हैसियतमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यादवलाई शनिबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि प्रदेश प्रमुख कर्णले उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने सदस्यलाई दाबी पेस गर्न समय दिएका थिए ।
मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिए पनि उक्त अवधिमा कसैको दाबी परेन ।
जसपा नेपालका नेता तथा मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख कर्णलाई संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया