मन्त्री बनेका चार सांसदलाई जसपाको पत्रः किन ह्वीप उल्लंघन गरेको हो ?


काठमाण्डु – जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले चार जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । सोमबार मन्त्री बनेका चार जना सांसदलाई जसपा संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको पत्रमा उल्लेख गरेका छन् ।

‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’, पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?’

जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्री बनेर शपथ ग्रहण गरेपछि स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement