जन्मकैदको सजाय काटिरहेका धामी भीमफेदी कारागारबाट फरार


मकावनपुर– भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् ।

कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन भित्रैबाट कसैले सहयोग गरेको आशङ्का गरे । कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेका कारण अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान रहेको उनले बताए । धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जेलर खनालले बताए ।

कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको उनले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement