कमल थापाले भने -राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको एक कार्यक्रममा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट किन आयो ?” थापाले प्रश्न गरे । पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्ग्चित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकता रहेको औँल्याएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अव लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ । उनले यि सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे ।

केही दिन अघि प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे । २२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन लगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।

राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिना यात्राको औचित्य पनि थापाले पुष्टी गरेका छन् । १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने छ । थापाका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ ।

त्यसैगरी संघीयता कार्यान्वय र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए । ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement