खगेन्द्र सुनारको सरकारलाई प्रश्नः करोडौँ भ्रष्टाचारको आरोप लागेका प्रहरी महानिरीक्षकलाई किन बचाइरहेको हो ?

खगेन्द्र सुनारको सरकारलाई प्रश्नः करोडौँ भ्रष्टाचारको आरोप लागेका प्रहरी महानिरीक्षकलाई किन बचाइरहेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको दाबी गर्दै प्रहरी महानिरीक्षक कार्कीमाथि गम्भीर आरोप लाग्दा पनि सरकार मौन बस्नुको कारण माग गरे ।

‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ । तर करोडौँ करोड भ्रष्टाचार गरेको आरोप लागेका अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र उहाँको श्रीमतीलगायत ठूला अधिकारीहरूमाथि आरोप लागेको छ,’ सुनारले भने ।

उनले महानिरीक्षक कार्कीमाथि लागेको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरी परेको बताए ।

‘करोडौँ भ्रष्टाचार गरेको त्यो आरोप अख्तियारदेखि सार्वजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ थपिँदै गएको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्तामोजा खरिदमा समेत भ्रष्टाचार गरेको आरोप उहाँमाथि लागेको छ,’ उनले भने ।

महानिरीक्षक कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लाग्दा सरकारले उनलाई बर्खास्त नगर्नुको कारणसमेत सुनारले माग गरेका छन् ।

‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उहाँमाथि लागेको छ । यो सरकारले उहाँलाई बर्खास्त किन गरिरहेको छैन ? उहाँमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उहाँलाई बचाइराखिएको छ ?’ उनले प्रश्न गरे ।

सुनारले प्रतिनिधिसभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै गम्भीर आरोप लागेका व्यक्तिमाथि छानबिन हुनुपर्ने बताए ।

‘यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । कहिल्यै पनि बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ । योबारे सचेत हुनुपर्छ,’ उनले भने ।

सांसद सुनारले यसअघि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा पनि यही विषय उठाएका थिए । उक्त बैठकमा सुनार र महानिरीक्षक कार्कीबीच आरोप–प्रत्यारोपसहित भनाभनसमेत भएको थियो ।