प्रचण्डले वेवास्था गरेपछि महानिर्देशक अधिकारीलाई कारबाही गर्ने मन्त्री किरातीको तयारी


काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कारबाही गर्ने तयारी गरेका छन् । आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई कारबाही गर्ने तयारी गरेका हुन् ।

अधिकारीले आफूलाई नटेरेको भन्दै मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँग तालुकवाला निकायले प्रक्रिया पुर्‍याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने भन्दै यसबारे एक्सन लिन आग्रह गरे । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा अधिकारीले स्पष्टीकरणको जवाफ नदिएकोबारे छलफल गर्ने आश्वासन दिएका  थिए ।

यसैबीच मंगलबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, उक्त बैठकमा अधिकारीले स्पष्टीकरण नदिएको विषयबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेनन् । प्रधानमन्त्री प्रचण्डले आफूले गरेको आग्रहलाई वेवास्था गरेपछि मन्त्री किरातीले मन्त्रीस्तरीय निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी मन्त्री किरातीको छ । गत मंगलबार पर्यटनमन्त्री किरातीले महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।

मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए। लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको गोप्य रहुनुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ नदिने बताएका थिए। सात दिन दिएको समय सकिँदा पनि महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ बुझाएनन् । अधिकारीले कारबाही भोग्न तयार भएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement