एकैदिन जन्मोत्सव भएका दुई क्रान्तिकारी नेताः एक सरकारकाे नेतृत्वमा अर्का प्रतिबन्धित !


काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ गतेबाट विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई वार्ताका लागि आह्वान गरेर प्रतिबन्ध हटाउने तयारी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए ।

‘विप्लव समूहबारे छलफल भयो । एक–दुई दिनभित्रै वार्ता आह्वान हुन्छ । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला’, उनले भने । प्रधानमन्त्री ओलीले एक मन्त्रीलाई विप्लव नेतृत्वको नेकपासँग छलफलका लागि खटाएका छन् । ती मन्त्रीले केहीदिन अगाडि काठमाण्डु उपत्यकामा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य चिरन पुनसँग अनौपचारिक वार्ता गरेका थिए ।

विप्लव नेकपाकाे तर्फबाट सरकारसँग दुई वटा माग अघि सारेको छ । पक्राउ परेका आफ्ना सबै नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नुपर्ने र प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेका छन् ।

सरकारले शान्तिपूर्ण राजनीतिमा आए सबै माग पूरा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।

जन्म दिनको संयोग

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाउँदैछन् । प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुमको इवा गाउँमा भएको थियो । संयोगले सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवको जन्मदिन पनि आज नै परेको छ ।

२०२४ साल फागुन ११ गते रोल्पाको केवरीमा बुबा चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीबाट परिवारको कान्छो सन्तानको रुपमा जन्म भएको थियो । प्रधानमन्त्री अ‍ोली भन्दा १६ वर्ष कान्छा विप्लव अहिले भूमिगत अवस्थामा छन् । ओलीले नेतृत्व गरेको पार्टी नेकपा सरकारको नेतृत्वमा छ भने उनले नेतृत्व गरेको पार्टी नेकपा प्रतिबन्धमा परेकाे छ ।

नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले हिँसात्मक गतिविधि गरेको भन्दै पक्राउ गरिरहेको छ । उनी भने भूमिगत अवस्थामा छन् । विद्रोही नेताका रुपमा चिनिएका विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवाद अंगिकार गरेको छ ।

राजनीतिक आरोह–अवरोह

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली २०२६ सालमा औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए । प्रधानमन्त्री अ‍ोली २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । उनी सोहीवर्ष जेल परे । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा उनी २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल बसेका थिए ।

२०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट तत्कालिन नेकपा एमालेको तर्फबाट निर्वाचित भए ।

त्यस्तै विप्लव एक नेपाली माओवादी राजनीतिज्ञ र विद्रोही नेताका रुपमा चिनिन्छन् । उनी माओवादी नेता रामबहादुर थापा (बादल) र प्रचण्डका साथ माओवादी जनयुद्धमा मुख्य कमाण्डरकाे रूपमा रहेका थिए । जनयुद्ध सुरु हुँदा ताका उनी अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्षका साथै पार्टीको ललितपुर जिल्ला सचिवको जिम्मेवारी प्राप्त गरेका थिए ।

विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी पनि ‘क्रान्तिकारी हुन नसकेको’ भन्दै विसं २०७१ मंसिरमा उनले दल टुक्राउने घोषणा गरे । यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखियो ।

सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थिया । मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २०७५ फागुन २९ मा समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरू माथि बम विस्फोट गरेको र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध अगाडि पनि यस समूह कुनै पनि चुनावमा सहभागी भएको छैन ।

अध्ययन

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण भए । उनी भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् ।

यता मध्यम वर्गीय परिवारमा जन्मिएका विप्लवको बाल्यकाल रोल्पा मै बित्यो । उनले सदरमुकाम लिवाङ स्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेका थिए ।

उच्च शिक्षा हासिल गर्ने उदेश्यका साथ उनी काठमाण्डु गएका थिए जहाँ उनले नेपाल कानुन क्याम्पसमा कानुन विषयमा भर्ना भएका थिए । उनी पूर्व सभामुख कृष्णबहादुर महराका विद्यार्थी समेत थिए । उनका दुई छोरी र एक छोरा रहेका छन् । उनी अहिले भूमिगत जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement