प्रधानमन्त्रीले चारै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएका छन् ।

श्रोतका अनुसार आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई आज साँझ छलफलका लागि आफ्नो निवास बालुवाटार बोलाएका हुन् ।

संसद विघटन मुद्धामा सर्वोच्चको फैसला आउन लागेका बेला प्रधानमन्त्रीले देशका चारवटै सुरक्षा प्रमुखलाई छलफलका लागि बोलाउनुलाई निकै चासोका साथ हेरिएको छ ।

आजै बिहान बसेको सुरक्षा परिषदको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा, प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेलगायत विषयमा केन्द्रित रही छलफल भएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी थिए ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।

सोमबार(हिजो) प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो । सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement