काठमाडौंका धार्मिक पर्यटकीय ६ स्थानमा सुरु भयो फ्री वाईफाई


काठमाडौं – महानगरपालिकाले हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरेको छ। आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सुरु गरेको हो।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको उनले बताए ।

‘इन्टरनेटको लत कहिले काहीँ समस्या बन्न सक्छ । फ्री वाईफाई पाएँ भन्दैमा युवायुवती कामै छोडेर फिल्म हेर्न्तिर लागे भने अभिभावकबाट गुनासो आउन सक्छ’, मेयर शाक्यले भने, ‘त्यसैले सम्भावित जोखिम हेरेर कसरी काम गर्ने भन्नेमा हामी सचेत छौं ।’ उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधि सम्बन्धी अन्य कामलाई तिव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे।

मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे। उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराए। वर्ल्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो।

यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ। सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ। तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वर्ल्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement