डिएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी


काठमाडौं – नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको  छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पक्राउ पूर्जीको जानकारी नआएको बताए । ‘हामीकहाँ ढुंगेलविरुद्ध पक्राउ पूर्जी आइसकेको छैन्’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने ।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको थियो ।

साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो । गृहसचिव प्रेमकुमार राईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत् छानबिन गर्न निर्देशन दिएपछि उनीमाथि छानबिन भएको थियो ।

काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्येका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाउनुका साथै भेटघाट गरेको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

यसअघि पनि ढुंगेल विभिन्न आपराधिक घटनाका अभियुक्तसँग सम्पर्कमा रहने गरेको आरोप लागेको छ । डिएसपी ढुंगेलले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत निरन्तर संवाद गरेको रहस्य यसअघि नै खुलेको ।

प्रतिक्रिया दिनुहोस
Advertisement