लालु यादवलाई ठुलो झट्का, १४ वर्ष जेल र ६० लाख जरिवाना


राँची- भारतीय जनता दल (आरजेडी)का सर्वोच्च नेता लालुप्रसाद यादवलाई चौथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय र ६० लाख भारतीय रूपैयाँ जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।

उनी सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट तीन करोड १३ लाख भारतीय रूपैयाँ बराबरको सम्पत्तीको दुरुपयोग गरेको आरोप छ । सिबिआईका न्यायाधीश शिवपाल सिंहले विहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आइपिसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक फरक अभियोगमा सात सात वर्ष गरी १४ वर्ष जेल सजाय तोकिदिएको बताए ।

पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने जनाए ।

अदालतको यही मार्च १९ मा भएको सुनुवाइले ६९ वर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ । राष्ट्रिय जनता पार्टीका अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका विहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ ।

यादवले यस्तै आर्थिक हिनामिनाको अर्को एक मुद्दामा दोषी ठहर गर्दै गत वर्षको डिसेम्बर २३ देखि बिर्सामुण्डा जेल राँचीमा कारागार जीवन विताइरहेका छन् । यादवले स्वास्थ्यमा समस्या देखिएपछि हाल राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स) मा उपचार गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement