बाढीले नछोएको पालिकाका अध्यक्ष, बाढी ग्रस्त क्षेत्रका नागरिकको यसरी बने सहारा

बाढीले नछोएको पालिकाका अध्यक्ष, बाढी ग्रस्त क्षेत्रका नागरिकको यसरी बने सहारा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट — १० भदौमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको तटीय क्षेत्र तहसनहस बनायो । सयौं घर बगायो, कतिपय घर पुरिए, सडक र पुल बगे । बस्तीहरू सम्पर्कविहीन बने । सयौं परिवार विस्थापित भए ।

बाढीपछि प्रभावित क्षेत्रमा राजधानीलगायतबाट मानिसहरू पुग्न थाले । कोही राहत लिएर पुगे, कोही उद्धारमा जुटे । सामाजिक सञ्जालमा फोटो खिचाउने, टिकटक बनाउने र सञ्चारमाध्यममा अन्तर्वार्ता दिनेहरूको भीड पनि देखिन थाल्यो । उनीहरुलाई धेरैले ‘बाढी पर्यटक’ को संज्ञा दिएका छन् ।

त्यही भीडमा नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठलाई भने फरक चिन्ता थियो । प्रभावित क्षेत्रमा सडक कसरी खुलाउने र पुरिएका घरहरुबाट सामान कसरी निकाल्ने ? उनी बाढी प्रभावित थिएनन् । उनको पालिका पनि बाढीको प्रत्यक्ष चपेटामा परेको थिएन । तर, आफ्नो पालिका नजिकैका बस्तीहरूमा मानिसहरू घरभित्रै थुनिएको, सडकमा माटो र ढुंगाको पहाड बनेको तथा विस्थापितहरू खुला आकाशमुनि पुगेको परिस्थितिले उनलाई बेचैन बनायो ।

‘बाढीबाट अति प्रभावित ढुंगेबजार, देवीघाटमा सहयोग गर्ने साथी देखिएनन्,’ श्रेष्ठ सम्झन्छन्, ‘प्रायः मान्छे आउने, फोटो खिच्ने र टिकटकमा हाल्ने प्रवृत्ति देखियो । मलाई लाग्यो—यसरी हुँदैन । केही न केही गर्नुपर्छ ।’ उनले आफ्ना वडाध्यक्षहरु, कार्यपालिका सदस्य र कर्मचारीलाई बोलाए । ‘हामी गएर जे सकिन्छ, गरौं भनें । सबै तयार हुनुभयो’, श्रेष्ठ भन्छन् ।

त्यसपछि लिखु गाउँपालिकाको एउटा टोली बाढी प्रभावित क्षेत्रमा पुग्यो । सुरूमा श्रेष्ठले उद्धारमा खटिनेका लागि सय जना स्वयंसेवकको ‘ज्याकेट’ तयार पारेका थिए । तर, प्रभावित क्षेत्रमा जाने बेलासम्म स्वयंसेवकको संख्या बढ्दै गयो ।

‘जाने बेलामा त तीन सय जना भइसकेका थिए,’ श्रेष्ठ भन्छन्, ‘जनप्रतिनिधि, कर्मचारी, रेडक्रस र विभिन्न संघसंस्थाका स्वयंसेवक मिलेर काम गर्‍यौं ।’

माटो र ढुंगाको पहाड पन्छाएर सडक खुलाए

बाढीले ढुंगेबजार आसपासको सडकमा माटो, ढुंगा र गेग्रान थुपारिदिएको थियो । कतै सडकको पहिचान गर्न नसकिने अवस्था थियो । लिखु गाउँपालिकाले माटोको ढिस्को खन्न र फाल्न १० वटा टिपर, दुई वटा आइचर र दुई वटा जेसिबी परिचालन गर्‍यो । सडकमा थुप्रिएको माटो र ढुंगा हटाउन थालियो । ‘बाटोमा पहाडजस्तो माटो, ढुंगा र गेग्रान थुप्रिएको थियो,’ श्रेष्ठ भन्छन्, ‘त्यो पन्छाएर सम्पर्कविच्छेद भएको ढुंगेलाई सदरमुकाम विदुरसँग जोड्यौं ।’ ढुंगे हुँदै गेर्खुटार र भैंसेसम्म मानिसहरू आउजाउ गर्न सक्ने अवस्था बन्यो ।

देवीघाटमा पनि यही टोली पुग्यो

ढुंगेमा थुप्रिएको हिलो हटाएर बाटो सञ्चालनमा ल्याइयो । श्रेष्ठको टोलीको काम सडक खुलाउनेमा मात्रै रोकिएन । बाढीले पुरिएका घरहरूमा मानिसहरू पस्न सक्ने अवस्था थिएन । कतिपय घरको पहिलो र दोस्रो तलासम्मै माटो र गेग्रान भरिएको थियो । टोलीले घरभित्र पसेर सामान निकाल्न सक्ने गरी माटो हटाउन थाल्यो ।

‘धेरै घरहरू पुरिएका थिए । ती घरबाट सामान निकाल्न सक्ने गरी पन्छायौं,’ उनी भन्छन्, ‘कतिपय घरको पहिलो र दोस्रो तलासम्म बाढीले पुरेको थियो। हटाएर ढोका खोलेर भित्र जान सक्ने बनायौं ।’ त्यसपछि कतिपय परिवारले आफूले घरभित्र सुरक्षित राखेको सामान निकाल्न पाए । ‘धेरैले सामान, नगद, सुनचाँदी झिक्न पाउनुभयो,’ श्रेष्ठ भन्छन् ।

उनी भने यो काम सकिएको ठान्दैनन् । ‘अहिले पनि हाम्रो टिम प्रभावित क्षेत्रमा काम गरिरहेको छ’, श्रेष्ठले काठमाण्डु पाटीसँग भने ।

उद्धारमा लागेको खर्च पालिकाले बेहोर्ने

लिखु गाउँपालिकाले प्रभावित क्षेत्रमा परिचालन गरेको जनशक्ति र उपकरणको खर्च आफ्नै विपद् उद्धार कोषबाट व्यहोर्ने भएको छ । उद्धारमा खटिएका स्वयंसेवक तथा कर्मचारीका लागि बट्टारमा सामूहिक मेस सञ्चालन गरिएको छ । ‘उद्धारमा लागेको सबै खर्च हाम्रै पालिकाको विपद् उद्धार कोषबाट गर्छौं,’ श्रेष्ठ भन्छन्, ‘काम गर्नेहरूलाई बट्टारमा सामूहिक मेस सञ्चालन गरेर खाना हामी आफैंले खुवायौं ।’

उनीहरूका लागि अहिले पनि खाना र बसोबासको व्यवस्थापन पालिकाले गरिरहेको छ । तर, बाढीपछि देखिएको अर्को ठूलो समस्या श्रेष्ठले नजिकबाट देखे—विस्थापित वृद्धवृद्धा र अशक्तहरूको अवस्था । विदुर र पिपलटार क्षेत्रमा बनाइएका होल्डिङ सेन्टरमा विस्थापितको संख्या बढ्दै गएको छ । ‘विदुर, पिपलटारतिर होल्डिङ सेन्टरमा करिब पाँच हजार मानिस भइसकेका छन्,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ धान्न गाह्रो परिरहेको छ ।’

त्यसैले उनले आफ्नो पालिकाको पूर्वाधारलाई पनि प्रभावितका लागि प्रयोग गर्ने योजना अघि सारे ।

कभर्ड हल अब दुई सय वृद्धवृद्धाको आश्रयस्थल

लिखु गाउँपालिकाको वडा नम्बर ५ मा पालिकाले कभर्ड हल निर्माण गरेको छ। त्यही कभर्ड हललाई अहिले बाढीबाट विस्थापित वृद्धवृद्धा र अशक्तका लागि आश्रयस्थल बनाउने तयारी भइरहेको छ । ‘कभर्ड हल बनाएका छौं । त्यसलाई अब बाढीबाट विस्थापित वृद्धवृद्धा र अशक्तहरूलाई राख्ने आश्रयस्थल बनाउनेबारे कुरा गरेको छु,’ श्रेष्ठ भन्छन् । उनका अनुसार करिब दुई सय वृद्धवृद्धा तथा अशक्तका लागि बस्न मिल्ने गरी स्थान तयार पारिँदैछ ।

‘दुई सय वृद्धवृद्धाका लागि बस्ने स्थान तयार पारेर भोलिबाट सार्न सुरु गर्छौं,’ उनी भन्छन्, ‘औषधि उपचार र खानपिन सबैको व्यवस्था मिलाउँछौं ।’ उनीहरूलाई स्वास्थ्य उपचारमा समेत समस्या नहोस् भनेर स्वास्थ्य संस्थासँग समन्वय भइरहेको छ । श्रेष्ठका अनुसार धुलिखेल सामुदायिक अस्पतालको स्वास्थ्य शाखाले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उनले प्रदेशको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका सचिवहरूसँग समेत समन्वय गरिरहेका छन् ।

‘विदुरका मेयर राजनलाल श्रेष्ठ र बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले पनि आग्रह गर्नुभएको छ’, उनी भन्छन्, ‘प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सचिवज्यूसँग कुरा गरेको छु ।’

घर गुमेकाको मात्र होइन, पढाइ गुम्न नदिन पनि चिन्ता

बाढीपछि घर गुमाउनेहरूको समस्या तत्काल देखिने खालको छ । तर, विस्थापनले बालबालिकाको पढाइमा पार्ने असर पनि कम गम्भीर छैन ।

त्यसैले लिखु गाउँपालिकाले विस्थापित विद्यार्थीको पढाइ निरन्तर गराउने तयारी थालेको छ । लिखु गाउँपालिकामा चारवटा माध्यमिक विद्यालय छन्—क्षेत्रपाल माध्यमिक विद्यालय, नारायणदेवी माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय र बच्छलादेवी माध्यमिक विद्यालय । त्यसबाहेक आधारभूत र प्राथमिक विद्यालयहरू पनि छन् । यिनै विद्यालयमा बाढीबाट विस्थापित विद्यार्थीलाई पढाउने योजना बनाइएको छ । ‘हामी विस्थापित तीन सय विद्यार्थीलाई पढ्ने प्रबन्ध गर्दैछौं,’ श्रेष्ठ भन्छन् । बाढीले घर, सडक र बस्ती मात्रै भत्काएको छैन । धेरै परिवारको दैनिकी, बालबालिकाको पढाइ र वृद्धवृद्धाको सुरक्षित बसोबाससमेत खोसिएको छ । यही अवस्थामा एउटा पालिका, जुन स्वयं बाढीको प्रत्यक्ष चपेटामा परेको थिएन, प्रभावितका लागि आफ्नो स्रोतसाधन परिचालन गरिरहेको छ । श्रेष्ठका लागि यो कुनै प्रचारको विषय भने होइन । उनको भनाइमा, विपद्का बेला जनप्रतिनिधिको जिम्मेवारी कार्यालयमा बसेर निर्देशन दिनेभन्दा बाहिर निस्केर नागरिकसँगै उभिनु हो ।

त्यसैले उनी आफैं प्रभावित क्षेत्रमा पुग्छन् । जनप्रतिनिधि र कर्मचारीलाई सँगै लैजान्छन् । स्वयंसेवक जुटाउँछन् । मेस चलाउँछन् । उपकरण पठाउँछन् । सडक खुलाउँछन् । पुरिएका घर सफा गर्छन् । विस्थापितका लागि आश्रयस्थल खोज्छन् । विद्यार्थीको पढाइलाई निरन्तरता दिने योजना बनाइसकेका छन् ।

१० भदौको बाढीपछि त्रिशूली किनारका बस्तीहरूमा राज्यको उपस्थिति खोजिरहेका नागरिकका लागि यस्ता स्थानीय पहल आशाको एउटा आधार बनेका छन् । ठूलो विपद्का बेला केन्द्र सरकारको संयन्त्र, राजनीतिक नेतृत्व र विभिन्न निकायको भूमिकामाथि प्रश्न उठिरहेका बेला स्थानीय तहको एउटा जनप्रतिनिधिले भने आफ्नो क्षमताले भ्याएसम्मको काम आफैंबाट सुरु गरेका छन् ।

त्यही कारण अहिले नुवाकोटमा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको चर्चा भइरहेको छ । देवीघाटमा बाढीबाट विस्थापित माधव गजुरेल लिखु गाउँपालिकाको कामको मुक्त कण्ठले प्रशंसा गर्छन् ।

उनले सडक खुलाउनुका साथै लिखुले पुरिएका आफूहरुका खण्डहरु घरहरु उतारेर सामानहरु निकाल्ने काम गरेको बताउँछन् ।

‘बास्तवमा स्थानी तहहरुले राम्रो काम गरेका छन् । लिखु गाउँपालिकाले जे जस्तो काम गरेको छ, प्रभावित क्षेत्रमा मानिसहरुको मन जितेको छ ।’
तर श्रेष्ठ भने यसलाई उपलब्धिका रूपमा प्रस्तुत गर्न चाहँदैनन् । उनको भनाइको सार एउटै छ—‘विपद्मा परेका मानिसका लागि फोटो होइन, साथ चाहिन्छ ।’