सेनामा रथी बढुवा :बस्नेतलाई अवरोध,सुवेदीको भाग्य चम्कियो


रोशन खड्का,  काठमाडौं– नेपाली सेनाका उपरथी देवकुमार सुवेदी रथी (तीन तारे जर्नेल) बन्ने भएका छन् । हाल सेनामा रथीको लाइनमा रहेका उपरथी अनुज वस्नेतको बढुवा प्रक्रिया रोकिएपछी सुवेदीको तीन तारे बन्ने बाटो खुला भएको हो ।

सेनामा सुवेदीभन्दा वरियतामा अघि वस्नेत र अर्का उपरथी शेखरसिंह वस्नेत थिए । उपरथी शेखरसिंहले उमेर हदका कारण आजै अवकास पाइसकेका छन् । उनी कार्यरथी विभागका प्रमुख थिए । प्रधानसेनापति पुर्णचन्द्र थापाले कार्यरथी विभागको जिम्मा समेत सुवेदीलाई दिएका छन् ।

हाल वरियतामा पहिलो नम्बरमा रहेका उपरथी अनुजको तीन तारे जर्नेलमा बढुवा नहुने लगभग निश्चित भइसकेको छ । उनको सहज बर्हिगमनको पक्षमा सैनिक नेतृत्व रहेको स्रोतको दाबी छ ।

सैनिक मुख्यालयमा उनको शैक्षिक योग्यताको प्रमाणपत्रमा समस्या देखिएको चर्चा भएपनि त्यसलाई उनले अस्विकार गर्दै आएका छन् । उपरथी वस्नेतको बढुवा नहुने भएपछि उनी आगामी मंसिर २५ मा अनिवार्य अवकासमा जानेछन् ।

उपरथी बस्नेतले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका थिए । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले चीनमा एनडिसीका लागी पठाएका थिए ।

नेपालीमा स्टाफ कलेज गरेकालाई एनडिसीमा नपठाउने निति विपरीत वस्नेतलाई चीन पठाएकोमा सेनाभित्र विरोध भएको थियो । त्यस्तै राणाले उमेर हद नाघेका सहायकरथी ज्ञानेन्द्र रायामाझिलाई समेत एनडिसीका लागी चीन पठाएका थिए । रायमाझिले एनडिसी गरेपनि उनको उपरथीमा बढुवा भने भएन् ।

उपरथी बस्नेत उपरथीमा बढुवा भएपछि उनको म्याद थप्ने नथप्नेबारे त्यतिबेला चर्चा भएपनि अन्तिममा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनको म्याद थप गरेका थिए । उनको म्याद थपमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधानको समेत हात रहेको थियो । उपरथीमा बढुवा भएर म्याद समेत थप भइसकेको अवस्थामा बस्नेतको रथीमा बढुवा रोक्नुलाई सेनामा कतिपयले पुर्वाग्रह भएको आरोप समेत लगाउने गरेका छन् । तर, प्रधानसेनापति थापाले डेढ महिनासम्म बढुवा रोक्नुको पछाडी पक्कै ठुलै कारण हुन सक्ने कतिपयको अनुमान छ ।

 

तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्री उपरथीमा बढुवा भएका सुवेदीलाई दज्र्यान्ही चिन्ह प्रदान गर्दै ।

प्रधानसेनापतिमा नियुक्त भएसंगै थापाले सेनामा सुधारको सुरुवात गरेका छन् । उनले सेनाको नक्कली प्रमाणपत्र, फास्ट ट्रयाक बढुवाका नाममा यसअघि सुरु गरिएको बढुवा पद्धती, भष्ट्राचार,आर्थीक अनियमितता र अपारदर्शीताका विरुद्ध कठोर कदम चाल्ने संकेत दिइसकेका छन् ।

प्रधानसेनापतिको उक्त कदमको सेनाभित्र मात्र होईन बाहिर पनि प्रशंसा भएको छ । प्रधानसेनापतिले बस्नेतको बढुवा पनि यहि विषयलाई आधार बनाएर रोकेको सैनिक स्रोतको दाबी छ । उनले बस्नेतको बढुवाका लागी राजनीतिक नेतृत्वलाई कन्भेन्स गरिसकेको बताइएको छ । तर, प्रधानसेनापतिले सेनाभित्र जुनियर अधिकारीलाई साथमा लिएर काम गरेको गुनासो भने व्यापक छ ।

सेनामा बस्नेतको बढुवा रोकेर प्रधानसेनापतिको लाइन विगार्ने खेलमा केही सैनिक अधिकारी नै लागेको चर्चा चलेपनि थापाले भने त्यसमा कुनै चलखेल हुन नदिने बताउंने गरेको स्रोतको दाबी छ ।

उनले त्यसपछिका उपरथी सुवेदीको ठाउंमा शरद गिरीलाई बढुवा गर्ने चर्चा चलेपनि रथीमा बढुवा भने सुवेदीलाई नै दिने तयारी छ । हाल सेनामा दुई रथीको दरबन्दी छ । सेनाको बलाधिकृत रथीमा हेमन्त कुवंर छन् भने बलाध्यक्षरथी भने खाली छ ।

रथी बढुवाको लाइनमा रहेका उपरथी सुवेदी हाल सैनिक गुप्तचरको प्रमुख छन् । उनि १९ बेसिकका सैनिक अधिकृत हुन् । सुवेदीले यसअघि मध्यपृतनाको पृतनापतिको जिम्मेवारी सम्हालेका थिए ।

उनले भारतबाट एनडिसी गरेका छन् । सुवेदीमाथी यसअघि नागरीकता सच्याएको आरोप लागेपनि छानविनबाट भने पछि उनीमाथीको आरोप पुष्टि नभएको सैनिक स्रोतको दावी छ ।

सुवेदी सेनाभित्र व्यावसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनी आर्थीक रुपमा समेत विवादमा नआएका उच्च सैनिक अधिकारी हुन् । सुवेदी तीन तारे जर्नेलमा बढुवा भएपनि सेनापति बन्ने सम्भावना भने देखिदैन् ।

यो पनि पढ्नुहोस –

सेनामा किन रोकियो रथीको बढुवा ? यस्तो छ भित्री कारण

नयाँ प्रधानसेनापतिबाट सेनामा सुधारको अपेक्षा कति ?

प्रतिक्रिया दिनुहोस
Advertisement