माधव नेपालको सुरक्षामा थप प्रहरी खटाएको छैन्ः प्रहरी प्रवक्ता


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षामा थप प्रहरी नपठाएको प्रष्ट पारेको छ । केही सञ्चारमाध्यमहरुमा नेपालको सुरक्षामा  प्रहरी थप गरिएको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले उक्त कुराको खण्डन गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी बसन्त बहादुर कुँवरले नेता नेपाललाई दुई जना सुरक्षाकर्मी दिइएकोमा हालसम्म कुनै पनि प्रहरी नथपिएको बताएका हुन् ।

‘उहाँलाई दुई जना सुरक्षाकर्मी दिइएको थियो । हालसम्म अन्य सुरक्षाकर्मी थपिएको छैन्’, प्रवक्ता कुँवरले भने ।

त्यस्तै गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले पनि नेता नेपालको सुरक्षामा प्रहरी नखटाइएको दाबी गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्रै सुरक्षकर्मी बढाइएको बताए । तर,  माधव नेपालमाथि सुरक्षा थ्रेट बढेको सुरक्षा अधिकारीकाे विष्लेषण छ ।

  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालको नेकपा एमालेका कार्यकर्ताले पुत्ला जलाउँदै विरोध गरिरहेका छन् । उनीमाथि एमालेका कार्यकर्ताबाट सुरक्षा थ्रेट बढेको सुरक्षा निकायको विश्लेषण छ ।

सरकारले प्रचण्डका लागि मापदण्डविपरीत सुरक्षाकर्मी खटाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै गृह मन्त्रालयले उनको सुरक्षामा डीएसपीको कमान्डमा एक दर्जन प्रहरी थपेको हो । गृहसचिव महेश्वर न्यौपानेले सचिवस्तरीय निर्णय गर्दै सुरक्षाकर्मी खटाउन निर्देशन दिएका छन् ।

सरकारको निर्णयलगत्तै नेपाल प्रहरीका डीएसपी विनोद घिमिरे एक दर्जन प्रहरीसहित खुमलटार पुगिसकेका छन् । अव दाहालको सुरक्षामा डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।

केपी ओली नेतृत्वको सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहाललगायतका धेरै भिभिआईपी र भिआईपीको सुरक्षामा खटिएकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सरकारले बनाएको मापदण्डमा पूर्वराजालाई १६ सशस्त्र र २ प्रहरी, पूर्वराष्ट्रपतिलाई २१ सेना, पूर्वउपराष्ट्रपतिलाई ११ सशस्त्र र २ प्रहरी, पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र र २ प्रहरी आजीवन उपलब्ध गराइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement