नेविसंघ अध्यक्ष महरले दिए देउवासमक्ष राजिनामा


काठमाडौं- नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजीनामा स्वीकृत गरेका छन् ।

देउवासँग महरले महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका हुन् ।

‘तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने नत्र दुर्घटनामा पर्नुहुन्छ,’ महरले सभापति देउवासँग भने, ‘दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।’

जवाफमा देउवाले पार्टीका नेता र महरसँग सल्लाह गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वाशन दिए ।

सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो ।

यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजीनामा स्वीृकत भएसँगै सङ्घको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement