चितवन – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले यस वर्ष एउटा नयाँ जातको मकै सिफारिस गरेको छ ।
खुला सिञ्चित जातका रूपमा रहेको मनकामना–८ जातको मकै सिफारिस गरिएको हो ।
सिड बोर्डले सिफारिस गरेपछि मकै किसानले समेत बीउको रूपमा प्रयोग गर्न पाउने छन् ।
कार्यक्रमका निमित्त प्रमुख भिमनाथ अधिकारीका अनुसार कार्यालयले यस वर्ष खुल्ला सिञ्चित जात सिफारिस गरेको हो । अर्को एउटा हाइब्रिड जात सिफारिसको चरणमा रहेको बताउँदै यसको नाम हाइब्रिड सीएएच–१५११ रहेको उनले जानकारी दिए । उनका अनुसार मनकामना–८ मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको हो । १ हजार ५०० मिटरसम्म लगाउन सकिने र अन्य जातको तुलनामा खडेरी सहन सक्ने भएकाले तराईमा समेत लगाउन सकिने उनले जानकारी दिए ।
तराई क्षेत्रका लागि सिफारिसको क्रममा रहेको सीएएच १५११ जातको मकै १ हजार मिटर उचाइसम्म लगाउन सकिने अधिकारीले बताए । वसन्त ऋतु र हिउँदमा समेत लगाउन सकिने मकै चिस्यान बढी भएपनि सहन सक्ने प्रकृतिको छ ।
कार्यक्रमले अहिलेसम्म हाइब्रिड जातको १० वटा र खुला सिञ्चित जातको ३१ वटा मकैको बीउ सिफारिस गरिसकेको उनले जानकारी दिए ।



प्रतिक्रिया