काठमाण्डु- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार राति भएको खेलमा सिटी नटिङ्घम फरेस्टसँग ३(१ गोलले पराजित भएको हो।
प्रिमियर लिगको १०औँ चरणअन्तर्गत फरेस्टको घरेलु मैदान सिटी ग्राउन्डमा भएको खेलमा घरेलु टोलीले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो।
खेलको छैटौँ मिनेटमै जायर कुन्हाले गोल गर्दै फरेस्टलाई अग्रता दिलाए। त्यसको १२ मिनेटपछि सिटीका पूर्वखेलाडी लियाम डेलापले गोल गरेपछि फरेस्टले अग्रता दोब्बर बनायो।
पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्यो। ५२औँ मिनेटमा रयान चेर्कीले गोल गर्दै सिटीको गोलअन्तर घटाए।
तर, ७३औँ मिनेटमा डेलापले व्यक्तिगत दोस्रो गोल गरेपछि फरेस्टले ३–१ को जित सुनिश्चित गर्यो।
यसअघि एस्टन भिल्ला र ब्राइटनसँग पराजित भएको सिटीले फरेस्टसँगको हारसँगै लिगमा लगातार तीन खेल गुमाएको छ।
जितसँगै फरेस्टले ९ अंक जोड्दै तालिकाको १६औँ स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सिटीको २१ अंक छ। शीर्ष स्थानको आर्सनलभन्दा सिटी ६ अंकले पछाडि छ।


प्रतिक्रिया