सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : सञ्चारमन्त्री शर्मा


बाँके – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छन् ।

नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन् ।

उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै उनले भनिन्, “विज्ञान र प्रविधिको विकास गर्नका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुपर्छ र सबैलाई अवसर प्रदान गर्नुपर्छ ।”

कार्यक्रममा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने भन्दै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोड्नुपर्ने बताइन् ।

हिमालयन साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा सुरु भएको दुईदिने प्रदर्शनीमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीद्वारा तयार पारिएका विज्ञान र प्रविधिसम्बन्धी ३० भन्दा बढी स्टल राखिएको फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताए। उनका अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement