राष्ट्रपति निर्वाचनमा एमालेलाई एक्ल्याउने कांग्रेस-माओवादीको प्रयास


काठमाण्डु- राष्ट्रपतिको निर्वाचनमा सहकार्य गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच निरन्तर छलफल भइरहेको छ । पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट निरन्तर भइरहको हो ।

यसैबीच बिहीबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान खड्का प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

गत पुस १० गते नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट अलग्गिएर प्रचण्ड नेकपा एमालसँग मिलेका थिए । पुस १० गते नै नेकपा एमालेसहित अन्य साना दलको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भए । त्यस बेला प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीमा आलोपालो र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो ।

तर, पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड पुस १० गतेको सहमतिबाट पछि हटेका छन् । उनले नेकपा एमालेलाई राष्ट्रपतिमा सहयोग गर्न आनाकानी गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका नेताहरुले पनि एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्न प्रचण्डलाई दबाब दिइरहेका छन् । यता नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवारलाई माओवादीले सयोग गर्ने दावी गरेको छ । त्यसकारण माओवादी र कांग्रस मिलेर राष्ट्रपति निर्वाचनमा एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement